काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले सरकारले अनुदानमा आधारित रासायनिक मल खरिदका लागि आवश्यक बजेट विनियोजन गर्दा पनि आपूर्ति व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।
चालू आर्थिक वर्ष २०७८/०७९ का लागि रासायनिक मल खरिद गर्न २७ अर्ब रुपैयाँ बजेट छुट्याए पनि अन्र्तराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि र आपूर्तिमा समस्या देखिएको बताए। फलस्वरुप, आम किसानलाई सहज रुपमा मल वितरण गर्न चुनौती देखिएको उनको भनाई छ ।
आईतबार काठमाडौंमा आयोजित नेपाल कृषि अर्थशास्त्र समाजको पन्ध्रौ बार्षिक साधारण उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले बजेट हुँदाहुँदै पनि मल खरिद गर्न सक्ने अवस्था नरहेको स्वीकारे ।
उनले रासायनिक मलको सट्टा अन्य विकल्पहरु सोच्ने बेला आएको समेत बताए । ‘देशको अवस्था यस्तो छ कि मलखाद खरिद गर्न हामीले २७ अर्ब रुपैयाँ बजेट विनियोजन गर्दा पनि आपूर्तिको अवस्था कम नै छ’ उनले भने, ‘त्यसकारण, यस्को विकल्पमा हामीले सोच्नुपर्ने बेला आएको छ । कि त नेपालमै एउटा मल कारखाना आवश्यक छ । अर्को विकल्प नेपाल सरकारले अन्य देशसँग पत्राचार गरेको छ कि जीटुजीमार्फत मल खरिदको सुनिश्चितता गर्नुपर्छ ।’