कोरोना महामारी बढेसँगै सलोम एग्रिकल्चर पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी नहुने

२०७८ पुष २७ गते प्रकाशित

काठमाडौं । आउँदो माघ ५ गतेदेखि ८ गतेसम्म हुने भनिएको सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ तोकिएको मितिमा नहुने भएको छ । पछिल्लो पटक कोरोना भाइरस(कोभिड १९) को ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएसँगै सो प्रदर्शनी स्थगित भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाको जोखिम बढेको भन्दै मेला, महोत्सव नगर्न आग्रह गरेसँगै पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी समेत अनिश्चितकालका लागि स्थगित भएको आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले कृषिपानालाई जानकारी दिए ।

‘कोरोना झन बढेको अहिलेको अवस्थामा प्रदर्शनी स्थगित गर्दैछौं । तोकिएको मितिमा नहुने भयो’ उनले भने, ‘कोभिड कारणले नै यो पछि हुने भयो, यसको आधिकारीक प्रेस विज्ञप्ती बेलुकासम्म निकाल्छौं ।’

चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनी नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा सञ्चालन गर्ने कार्यतालिका थियो ।

प्रदर्शनीको सबैतिर प्रचार प्रसार भइरहँदा निम्तिएको ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम समुदायस्तरमा बढेको भन्दै प्रदर्शनी स्थगित गर्नुपरेको कटुवालले जानकारी दिए ।