दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारीस

२०७८ पुष २८ गते प्रकाशित

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य १० रुपैयाँ बढाउन सिफारीस गरेको छ । हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारीस गरी पठाएको र त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्ने मन्त्री यादवले बताए । हालको उपभोक्ता मूल्य ७६ रुपियाँ प्रति लिटरममा १० रुपियाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपियाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपियाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ ।

किसानबाट खरिद गरिएको कच्चा दूध प्रतिलिटर ५३.५० रुपियाँ र प्रशोधित लागत प्रतिलिटर ३०(५० रुपियाँ गरी प्रतिलिटर ८४ रुपियाँ हुनजान्छ । त्यसमा उद्योगीले २ रुपियाँ मुनाफा लिएर उपभोक्त मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको छ ।गोरखापत्र दैनिकबाट