काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर माघी पर्वको रौनक सुरु भएको छ । आगामी माघ १ गतेका दिनलाई माघी पर्व वा माघे संक्रान्ति पर्वका रुपमा मनाइँदैछ ।
माघी पर्वमा खासगरी तरुलजन्य कन्दमूलको व्यापार र कारोबार बढी हुने गरेको छ । काठमाडौं उपत्यकाकामा माघी पर्वका लागि लक्षित गरेर तरुल, पिडालु, सख्खरलगायतका कन्दमूल बाहिरी जिल्लाबाट धमाधम भित्रिन थालेको छ ।
पुस महिनाभर तरुल, पिडाँलु र सखरखण्डको नै कारोबार बढी हुने गर्छ । विशिष्ट उत्पादका आधारमा भारतबाट त्यति बढी तरुल आयात नभएको जनाइएको छ । काठमाडौं उपत्यकाको ठूलो व्यापारीक केन्द्र कालीमाटी तरकारी बजारमा पुस महिनाभर माघी पर्वलाई लक्षित गरी तरुल १२२९ टन, पिडालु २९३ टन र सखरखण्ड १९८ टन गरी १७२० टन बाहिरी जिल्लाबाट भित्रिएको छ ।
उपत्यकाभित्र खपत हुने तरुलजन्य कन्दमूल ९० प्रतिशत स्वदेशकै हुने गरेको छ । ‘तरुलकै कुरा गर्दा ९/१० प्रतिशत मात्रै भारतबाट आएको देखिन्छ’ कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले भने, ‘अरु सबै नेपाली नै खपत भइरहेको छ । सबैभन्दा कारोबार हुने भनेको सर्लाही तिरको तरुलको हो । सर्लाहीको झन्डै ४५ प्रतिशत तरुल उपत्यकामा भित्रिन्छ ।’
त्यस्तै, सुनसरी, धादिङ, चितवन, काभ्रे मकवानपुरलगायत अन्य बाहिरी जिल्लाबाट पनि तरुलजन्य कन्दमूल आउने गरेको छ । नेपाली समाजमा पछिल्लो पटक तरुलजन्य कन्दमूल उपभोग गर्ने ‘कल्चर’ बढेको देखिन्छ । माघी पर्वका लागि लक्षित गरेर तरुलजन्य वस्तुको खपत र कारोबार बढी हुन्छ । यद्यपी, अन्य महिना पनि त्यस्ता वस्तुको कारोबार भइरहकैै रहेको हुन्छ ।
वि.सं २०७८ बैशाख १ गतेदखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार ६ सय ८० टन तरुलजन्य कन्दमूल कालीमाटी बजारमा भित्रिएको देखिन्छ । माघी पर्वमा काठमाडौं उपत्यकामा मात्रै झन्डै २५ करोडको तरुलजन्य वस्तुको कारोबार हुने देखिएको श्रेष्ठले बताए ।
कालीमाटी तरकारी बजारमा तरुलको प्रकृतिअनुसार मूल्य फरक फरक छ । एउटै मूल्यमा तरुलको कारोबार हुँदैन् । कालीमाटीमा ५०÷६० रुपैयाँ प्रतिकेजी देखि २५० देखि ३०० रुपैयाँसम्म तरुलको प्रकृति हेरेर मूल्य तिर्नुपर्छ । स्थानीय रुपमा उत्पादन भएको तरुलको मूल्य केही बढी नै रहेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।