आज माघे संक्रान्ति पर्व, घिऊ, चाकु, लड्डु र तरुल खाएर मनाइँदै

२०७८ माघ १ गते प्रकाशित

काठमाडौं । माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको पहिलो दिन हो आज । मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ । यो नेपालको एक प्रमुख चाड हो । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो ।

माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

माघेसङ्क्रान्तिमा के खाने ?
तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे संक्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ ।

तरुल
तरुललाई कन्दमुलको रुपमा पनि चिनिन्छ । तरुल माटोमुनी फल्ने फल हो । यसलाई विषेश गरि माघे सङ्क्रान्तिको दिनमा खाने गरिन्छ । जाडो मौसममा तरुल निकै लाभदायक मानिन्छ । माघे संक्रान्तिमा यसलाई पनि प्रसादकै रुपमा ग्रहण गर्ने प्रचलन छ । तरुललाई उसिनेर, आगोमा पोलेर वा तरकारी बनाएर खान सकिन्छ ।

तरुल विभिन्न किसिमका हुने गर्दछन् । जस्तै बन तरुल, रातो तरुल, पानी तरुल, गिठ्ठा तरुल, सिमल तरुल, घर तरुल हुने गर्छ । तरुल र सखरखण्डलाई संक्रान्तिको मुख्य खाद्यपदार्थको रुपमा लिइन्छ ।

तरुलबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुललाई साप्ताहिक रुपमा नियमित प्रयोेग गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मधुमेहको विरामीले भने अलि कम नै प्रयोग गर्दा राम्रो हुन्छ ।

घिउ र चाक्कु

घिउले रक्त र आन्द्रामा रहेको कोलेस्टोल कम गर्छ । यस्तो किन हुन्छ भने घिउबाट बाइलरी लिपिड स्राव हुन्छ । यो नाडी प्रणाली र मस्तिष्कका लागि समेत श्रेष्ठ औषधि मानिन्छ । घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त हुन्छ ।

यसको प्रयोग यसकारण गरिन्छ की जाडो याममा मानिसलाई बढी ऊर्जाको आवश्यकता हुन्छ । त्यही उर्जा प्राप्त गर्नको लागि घिउ चाकु प्रयोग गर्ने प्रचलन भएको हो । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरनसमेत प्राप्त गर्न सकिन्छ । तर, मधुमेह र मिर्गौलाका बिरामीले भने यसको बढी प्रयोग गर्नु हुँदैन ।

तिलको लड्डु

संक्रान्तिमा तिलको लड्डु बनाएर प्रयोग गर्ने प्रचलन छ । कसैले घरमै बनाउँछन त कसैले बजारबाट किनेर ल्याएर यसको प्रयोग गरेको पाइन्छ । धार्मिककार्यका लागि पनि तिल एक पवित्र मानिने खाद्य पर्दार्थ हो । तिल र यसको तेल निकै स्वस्थकर र उत्तम हुन्छ । जुन जाडो मौसममा अति स्वस्थकरह हुन्छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ ।