पारदर्शिता आजको आवश्यकता र सुशासनको सङ्केत हो । यसको अभावमा भष्टाचार मौलाउँछ। निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पत्ति, पद, शक्ति र स्रोतको दुरुपयोग गर्नु भ्रष्टाचार हो । भ्रष्टाचारबाट लोकतन्त्र र विधिको शासन, अर्थतन्त्र कमजोर हुने, विभिन्न द्वन्द र विचलन बढ्ने, मानवीय मूल्यमान्यतामा ह्रास आर्थिक विकास र समृद्धि सुस्त हुने, बेरोजगारी गरिबी बढ्ने, महङ्गी, मिसावट, प्रतिस्पर्धात्मक क्षमताको ह्रास लगायतका विभिन्न प्रतिकूल अवस्थाहरु देखा पर्दछन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले जानीजानी वा लापरबाही साथ काम गर्दा कानूनको पालना नगर्दा, उद्देश्य विपरित काम गर्दा व्यक्ति कारबाहीको भागिदार बन्दछ । तालुकदार निकाय, कार्यालयप्रमुख जिम्मेवार व्यक्ति निष्कलङ्क हुने हो
सुशासक बनिदिने हो भने मातहतको निकाय हाकिम कर्मचारीले भ्रष्टाचार गर्ने हिम्मत गर्दैन । अहिले नेपाली जनजिब्रोमा सबैभन्दा बढी प्रयोगमा आउने थोरै शब्दावलीमध्ये एक हो भष्टाचार । मुलुकमा भ्रष्टाचारले जरा गाडेको छ । जहाँ कहीं भ्रष्टाचार देखिन्छ, समोसामा आलु व्याप्त भएजस्तै मुलुकका हरेक निकाय, हरेक अफिसको हरेक टेबुलमा भ्रष्टाचार व्याप्त रहेको जनगुनासो सुन्न पाइन्छ ।
कमिसन लिने, राजस्व चुहावट गर्ने, गलत अनुवाद गर्ने, सरकारी कागजात सच्याउने, सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने, प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, गैरकानुनी व्यापार व्यवसाय गर्ने, झुट्टा विवरण दिने, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने, गैरकानुनी दवाब दिने, गलत प्रतिवेदन दिने, गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्ने, उद्योग गर्ने , सङ्गठित संस्थाबाट भएको कसुरमा मुख्य भई काम गर्ने लगायतका विभिन्न भ्रष्टाचारका प्रकृति रहेका छन् । विश्वमा १८० वटा राष्ट्रमध्ये ४० भन्दा कम नम्बर ल्याउने र ई.सं. २०१५ देखि हालसम्मको तथ्याङ्क हेर्दा सार्क राष्ट्रभित्र नेपाल बढी भ्रष्टाचार हुने पाँचौं राष्ट्रमा पर्दछ ।
भ्रष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्रियाशील रहेको छ । आयोगका पदाधिकारीहरु नियुक्तिमा नै राजनीतिक हस्तक्षेप भागबण्डा हुँदा निष्पक्ष अनुसन्धानमा आशङ्का जनताले गर्नु स्वाभाविकै हो । आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीय निकायमा बढी भ्रष्टाचार व्याप्त देखिन्छ । डिएपी मल आपूर्ति गर्दा एक अर्बभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, गुणस्तर प्रमाणित गर्ने कम्पनीका कर्मचारी, ठेकेदार, गलत लिखत तयार पार्ने व्यक्तिमाथि भ्रष्टाचार गरेको आरोपमा उजुरी दर्ता गराएको छ । कम गुणस्तरको मल आपूर्ति गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।दुध तथा खाद्यान्नमा मिसावट लगायतमा भ्रष्टाचार देखिन्छ। भ्रष्टाचार निवारण गर्ने पहिलो जिम्मेवार व्यक्ति कार्यालय प्रमुखले क्रियाशीलता देखाउने हो भने भ्रष्टाचार धेरै हदसम्म कम हुन्छ ।
हरेक कार्यालयले सेवाग्राहीलाई मुस्कानसहित सेवा दिन आवश्यक छ । ‘एउटै उद्देश्य एउटै नारा, भ्रष्टाचारबाट छुटकारा हामी सबैको अभिभारा’ भन्ने नारा सार्थक बनाउन जरूरी छ । बढी भ्रष्टाचार हुने निकायका रूपमा स्वास्थ्यसंस्थालाई लिने गरिन्छ । स्वास्थ्य चौकी निर्माणकार्य ,सामग्री आयातदेखि तालिम लगायतका कार्यक्रममा भ्रष्टाचार व्याप्त छ । निर्माण सम्पन्न भएका चौकीहरु चुहुन थालेका छन् । राजमार्गमा सवारी साधनको जाँच तथा ओसारपसार भएका सामानहरूको निरीक्षण गर्ने क्रममा व्यापारीबाट पैसा लिएर तेत्तिकै छोड्ने गरेको गुनासो समेत सुन्न पाइन्छ ।
‘म र मेरो’को भावना त्यागी ‘हामी र हाम्रो’ भावना लिएर अघि बढ्यो भने पनि भ्रष्टाचार कम हुन्छ । मरेर जाँदा मुठी फुकाएर जाने हो, गैरकानुनी रुपमा धन आर्जन गरेर भएको इज्जत मान मर्यादा,प्रतिष्ठा फाल्नु हुँदैन भन्ने पूर्वीय हिन्दू अध्यात्म दर्शनलाई अङ्गीकार गर्ने हो भने पनि भ्रष्टाचार धेरै हदसम्म अन्त्य हुन्छ । अख्तियारमा राजनीतिक नियुक्ति हुँदासम्म कार्बाही निष्पक्ष हुँदैन । गरिबभन्दा धनाढ्यहरु बढी भ्रष्टाचारमा संलग्न देखिन्छन् । गासबासकपास तथा रोजगारको अभावमा भ्रष्टाचार मौलाउँछ भन्ने कुरा पनि वाहियात देखिन्छ । ठूलाठूला भ्रष्टाचार ठुलै व्यक्तिबाट हुने गरेका छन् । भष्टाचार हरेक क्षेत्रमा देखिन्छ । विद्यालय निरीक्षणको पाटो कमजोर हुँदा शिक्षाजस्तो पवित्र क्षेत्रमा पनि भ्रष्टाचार व्याप्त देखिन्छ । बाटोघाटो पुलपुलेसा निर्माण लगायतका क्षेत्रमा पनि भ्रष्टाचार देखिन्छ ।
कार्यालयमा कर्मचारीले समय पालना गरेको देखिँदैन । समयको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो । कामचोर प्रवृत्ति,सवारी साधनको दुरुपयोग लगायतका धेरै कुराहरु रहेका छन् । समयको दुरुपयोग पनि भ्रष्टाचार नै हो भ्रष्टाचार आफैंमा सानो र ठूलो हुँदैन भ्रष्टाचारको सम्भाव्य ठाउँमा अख्तियार कतै नपुगेको हो कि भन्ने जनगुनासो पनि सुन्न पाइन्छ । भ्रष्टाचार भएको छ कि भनेर अख्तियारले विना उजुरी पनि छानबिन गर्नुपर्ने देखिन्छ ।
फेरि कतै कतै कुनै व्यक्तिमाथि रिसिबी उठ्यो भने अख्तियारमा उजुरी गर्ने प्रवृत्ति बढ्दै गएको छ र अनुसन्धान गर्दै जाँदा सम्बन्धित व्यक्ति निर्दोष देखिन्छ तर अकारण परेको उजुरीले निर्दोष व्यक्तिलाई परेको मानसिक, सामाजिक मान मर्यादा लगायतमा परेको असर स्वरूप बिगो असूली उजुरीकर्ताबाटै गर्ने परिपाटी बसाल्नु आवश्यक देखिन्छ । मुद्दा परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गरी सकभर निर्दोष नपसोस् भन्ने उद्देश्यले काम गर्नुपर्छ ।
कतिपय ठाउँमा आयोगका कर्मचारीहरुलाई घुस खुवाएर गास वास कपासको राम्रो बन्दोबस्त गरेर उनीहरुलाई आकर्षित पारेर बेरुजु देखिएका योजनाहरुमा पनि सदर गर्ने गरेको गुनासो रहेको सन्दर्भमा अख्तियारले आफ्ना कर्मचारीमाथि नै अनुसन्धान गर्नुपर्दछ । राजकीय चिन्तन नै भ्रष्टाचारको मुख्य कारण हो,
भ्रष्टाचार निवारणमा कुनै एउटा व्यक्ति संघसंस्था मात्रैको भूमिका पर्याप्त देखिँदैन । यसको लागि हरेक व्यक्ति संघसंस्था निकायहरुको पहल कदमीमा मात्र सुशासनयुक्त समृद्ध मुलुकको परिकल्पना साकार हुन सक्छ। फोटो गुगल फाइल