कृषि सामग्री कम्पनीको कामू प्रवन्ध सञ्चालकमा राजेन्द्रबहादुर कार्की

२०७८ माघ १७ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको कृषि सामग्री कम्पनीको कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी राजेन्द्रबहादुर कार्कीलाई दिइएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी कार्कीलाई दिने निर्णय गरेको थियो ।

कार्कीले सोमबार कामू प्रवन्ध सञ्चालकको रुपमा पद्भार गरिसकेका छन् । गत पुस १८ मा कमसल डीएपी मल खरिद गरी आर्थिक अनियममितताको मुद्धामा तत्कालीन प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जना कर्मचारीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि उक्त पद रिक्त थियो ।

करिब एक महिना अवधिभर कृषि सामग्री कम्पनी नेतृत्व विहीन हुन पुग्यो । फलस्वरुप, रासायनिक मल खरिद प्रकृया र अन्य महत्वपूर्ण निर्णय हुन सकेनन् ।

कार्कीलाई निमित्त प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएर रासायनिक मल खरिद लगायतका निर्णयहरु अघि बढाउन स्वंयम कृषि मन्त्रीले चासो देखाएका थिए । कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हाले लगत्तै कार्कीले किसानलाई रासायनिक मल उपलव्धताको सुनिश्चितता गर्न आफु कटिबद्ध रुपले लाग्ने बताए ।

वि.सं २०५२ सालमा सरकारी सेवामा प्रवेश गरेका कार्की लामो समय कृषि सामग्री कम्पनीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । यसअघि उनी कम्पनीको विभागीय प्रमुखको रुपमा कार्यरत थिए । रासायनिक मल खरिदमा नेपालले भारतसँग गरेको पहिलो पटक सरकार–सरकारबीच(जीटुजी)ं गर्दा उनको महत्वपूर्ण भूमिका रह्यो । त्यतिबेला १५ हजार मेट्रिक टन मल जीटुजी गरि ल्याइएको थियो ।