काठमाडौं । आगामी फागुन पहिलो साताभित्र इजिप्टबाट करिब २० हजार मेट्रिक टन मल आउने भएको छ । कृषि सामग्री कम्पनीमार्फत ग्लोबल टेन्डरमार्फत उक्त मल आउने करिब करिब पक्का जस्तै भएको हो ।
‘उक्त परिमाणको मल आपूर्तिकर्ता कम्पनीले हिडाइसकेको छ’ कम्पनीका कार्यबाहक प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने, ‘ठेक्का सम्झौता भएर आउँदो फागुन पहिलो हप्ताभित्र २० हजार टन डीएपी आउँछ ।’
यदि अन्य काबु बाहिरको परिस्थिति सिर्जना नभए उक्त मल छिट्टै आइपुग्ने उनको भनाई छ । किसानलाई मल आपूर्तिको सुनिश्चितता गर्न र अभाव हुन नदिने गरी कम्पनीले बाँकी ठेक्का अघि बढाउने उनले बताए ।
ठेक्का भइसकेको मल छिट्टै ल्याउन पहल गर्ने र आगामी वर्षको खेती हुने सिजनका लागि मलको सुनिश्चितता गर्न अहिले नै ठेक्का लगाउनुपर्ने उनको भनाई छ । २० हजार टन डीएपी स्वीस सिंगापुर कम्पनीमार्फत ठेक्का सम्झौता भएर आउने भएको हो ।