दानाको अस्वभाविक मूल्य वृद्धिले कुखुरापालक किसान मारमा

२०७८ माघ २० गते प्रकाशित

काठमाडौं । दानाको अस्वभाविक मूल्य वृद्धि भएपछि कुखुरापालक किसान मारमा परेका छन् । कुखुराको मासु उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मकै, भटमास, सोयविन पिनालगायत दानाजन्य वस्तुको मूल्य अस्वभाविक बढेपछि किसानले नोक्सान ब्यहोर्नुपरेको हो ।

दानाको मूल्य अत्यधिक बढेको र कुखुराको मासुको मूल्य घटेपछि कुखुरापालक किसान र समग्र पोल्ट्री क्षेत्र नै धराशायी हुँदै गएको नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए ।

दानामात्र नभई चल्ला, औषधीको अधिकतम मूल्य वृद्धि तथा गुणस्तरहीनताका कारण बोइलर कुखुरापालक किसानले घाटा ब्यहोर्नुपरेको उनको भनाई छ ।

संघका अनुसार, प्रतिकेजी दाना उत्पादन लागत ४७.५३ रुपैयाँ पर्छ । त्यसमा पूजी लगानी खर्च ५ रुपैयाँ, व्यवस्थापन खर्च ५ रुपैयाँ, मुनाफा १० रुपैयाँ(सप्लयर्स खर्चसहित) गरी दानाको उत्पादन लागत कुल ६७.५३ रुपैयाँ पर्न आउँछ । तर, अहिले बजारमा दानाको प्रतिकेजी मूल्य ८४ रुपैयाँ पुगेको र १६ रुपैयाँ कालोबजारी भइरहेको पौडेलको भनाई छ ।

यता, चल्लाको मूल्यमा पनि उत्तिकै मूल्य बढेको छ । प्रति चल्ला उत्पादन लागत ३५ देखि ४० रुपैयाँ पर्ने भए पनि बिचौलियाका कारण बजारमा अहिले प्रति चल्ला ७५ रुपैयाँ पर्छ ।

यसरी हेर्दा, प्रतिकेजी बोइलर कुखुराका मासु तयार गर्न २५२ रुपैयाँ लाग्ने भए पनि बजारमा १८० देखि २०० रुपैयाँमा बिक्रि गर्दा किसानलाई प्रत्यक्ष नोक्सान पुगेको संघले जनाएको छ । कुखुरापालक किसान र उपभोक्ताबीच पुलको काम गर्ने बिचौलियाहरु मूल्य निर्धारणको मालिक बन्ने र संघको नाममा सिन्डिकेट लाद्ने प्रवृत्तिका कारण किसानले ठूला घाटा ब्यहोर्नुपरेको अध्यक्ष पौडेलको भनाई छ ।

दानाको मूल्यमाथिको सिन्डिकेट तोड्दै दाना उद्योग र त्यसका सञ्चालकलाई मूल्य निर्धारण गर्ने अधिकार कस्ले दियो ? र, सरकारका सम्वन्धित निकाय र सरोकारवालाहरुले त्यसप्रति चासो नदेखाए सम्पूर्ण कुखुरापालक किसान तेस्रो चरणको आन्दोलनमा होमिन बाध्य हुने उनले बताए ।

दाना उद्योगले आफुखुसी दानको मूल्य बढाएपछि यतिबेला किसान आन्दोलित भएका छन् । संघले सत्य तथ्य छानबीन गरी मूल्य वृद्धि गर्ने र सिन्डिकेटधारी व्यापारीलाई आवश्यक कारबाही गरिपाउँ भनी गृह, उद्योग तथा वाणिज्य र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेको छ ।