कृषि सामग्री कम्पनीले नेतृत्व पाएसँगै साढे २७ हजार टन मलको सुनिश्चितता

२०७८ माघ २० गते प्रकाशित

काठमाडौं । करिब एक महिना लामो समय पश्चात कृषि सामग्री कम्पनीले नेतृत्व पायो । अर्थात, कम्पनीको कार्यबाहक प्रवन्ध सञ्चालकको जिम्मेवारीमा कम्पनीकै विभागीय प्रमुख समेत रहेका राजेन्द्रबहादुर कार्की आए ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आइतबार कामू प्रवन्ध सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेसँगै कम्पनीले नेतृत्व पायो ।

कार्कीले गएको सोमबार देखि नै कामू प्रवन्ध सञ्चालकको जिम्मेवारी लिएर काम गरिरहेका छन् । उनलाई अहिले बिगत एक महिनादेखि रोकिएका, अड्किएका फाइल तथा अन्य महत्वपूर्ण निर्णय गराउन भ्याइ नभ्याइ छ ।

उनी कम्पनीको नेतृत्वमा आए पछि कार्कीकै पहलले इजिप्टबाट २० हजार टन मल आउने पक्का पक्की भएको छ । अहिले कम्पनीको गोदाममा डीएपी र युरिया मलको मौज्दात शुन्य प्रायः छ । २० हजार टन डीएपी मल फागुन पहिलो हप्ताभित्र नेपाल आइपुग्ने सुनिश्चित भएको कार्कीले जानकारी दिए । उक्त परिमाणको डीएपी मलले किसानलाई केही सहज हुने उनले बताए ।

त्यस्तै, अबको २२ दिन भित्र साढे ७ हजार पोटास पनि आउने कार्कीले जानकारी दिए । ‘म आए लगत्तै २० हजार टन डीएपी र साढे ७ हजार टन पोटास फागुन पहिलो हप्ताभित्र आउने सुनिश्चित भइसकेको छ’ उनले भने, ‘बाँकी मल खरिदका लागि छिट्टै नै टेण्डर प्रकृया अघि बढाउँदैछौं ।’

आउँदो धानबालीको सिजनका लागि अहिले नै मल खरिद प्रकृया समयमै सम्पन्न गर्ने र किसानलाई समयमै मल उपलव्ध गराउने वातावरण सिर्जना गर्न कृषि मन्त्रालयसँग छलफल र समन्वय गरिरहेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी वर्षका लागि अहिले नै एक लाख टन मल खरिदका लागि ठेक्का लगाउन स्वीकृती दिएमा अर्को वर्ष मलको अभाव नहुने उनको भनाई छ । आफुहरुले त्यस बिषयमा कृषि मन्त्री र सचिवसँग निरन्तर छलफल र सम्बाद गरिरहेको कार्कीले बताए ।