बाजुरामा हिमपातः जनजीवन प्रभावित, किसान खुसी

२०७८ माघ २१ गते प्रकाशित

काठमाडौं । मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ । बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । चिसोका कारणले वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन् । हिमपातका कारण जिल्लाको आवतजावत नै बन्द भएको छ ।

यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ । हिमपातले चिसो बढ्दै गएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौ वटै पालिकामा हिमपात भइरहेको छ । हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीयवासी बढी प्रभावित बनेका छन् । त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् ।

यसैगरी लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहूँबालीमा राहत पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको किसान बताउँछन् । वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो ।

जिल्लाका बडिमालिका, बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ ।

वन्यजन्तुको चोरी सिकार बढ्दै

जिल्लामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकार बढ्ने भएको छ । हिमपातका कारण जङ्गली जनावर न्यानो खोज्दै बेँसीमा आउने गरेकाले स्थानीयवासी घरेलु हतियारले ९भाला छुरा० सिकार गर्ने गरेका छन् । लेकाली भेगमा रहेका हरिण, मृग, रतुवा, कालिज घोरललगायत जङ्गली जनावरको सहजै रुपमा उनीहरुले चोरी सिकार गर्ने गरेका छन् ।

हिमपात भएपछि स्थानीयवासीले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य घरेलु हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका हुन् । यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमुल, बडिमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयवासीले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका छन् ।

जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ । सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपनि हिमाली तथा पहाडी जिल्लाका स्थानीयवासीले लुकिछिपी जङ्गली जनावरको सिकार गर्न छोडेका छैनन् । हिमपात भएपछि घरै जङ्गली जनावर बास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ । जङ्गली जनावरको चोरी सिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको बताइएको छ ।