वसन्त पञ्चमीको महत्व र महामारीको सन्दर्भ

२०७८ माघ २३ गते प्रकाशित

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।
××× ××× ××× ×××
शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीम्
वीणापुस्तक धारिणीमभयदां जाड्यान्धकारापहाम् ।

हस्तेस्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम् ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।

आज माघ शुक्ल पञ्चमी, विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा वसन्त पञ्चमी ; मुलुकभरि विद्या, बुद्धि तथा सिर्जनाकी देवी , ज्ञान-बुद्धिकी खानी सरस्वतीको पूजा गरी मनाइँदैछ । वाङ्मयका साधक, कलाकार कलमजीवी तथा विभिन्न गायकहरुले आफ्ना पुस्तक तथा विभिन्न साधनाका आफ्ना सामग्रीहरूको पूजा गरी सरस्वती पूजा मनाउने गर्दछन् ।

सरस्वतीका मन्दिरमा आज भव्यरुपमा पूजा-आराधना हुन्छ । विद्यालय, शैक्षिक संस्था तथा शिक्षासँग सम्बन्ध राख्ने व्यक्ति सस्थाहरुले सरस्वतीको पूजा भव्यरुपमा सम्पन्न गर्ने गर्दछन् ।

शैक्षिक व्यक्तित्वहरुको लागि आजको दिन महत्वपूर्ण उल्लासमय चाड हो । गोरो वर्ण भएकी, चार हात भएकी, हातमा वीणा पुस्तक र कमलको फूल लिएकी चार हात भएकी हंस वाहिनी भारती शारदादेवी, जगन्माता, वागीश्वरी,कौमारी,वरदायिनी , बुद्धिदात्री , ब्रह्मचारिणी, चन्द्रघञ्टा, भुवनेश्वरी लगायत विभिन्न नामले प्रख्यात भएकी सरस्वती ज्ञान, बुद्धि, विवेककी दाता धनधान्यले पूर्ण गरिदिने ज्ञानले पूर्ण गरिदिने शक्तिको रूपमा सरस्वतीलाई लिने गरिन्छ ।

सरस्वती खुशी भएमा बोलेको कुरा पुग्ने जन विश्वास रहेको छ । त्रिदेव समेत समाहित भएकी शक्तिका रुपमा रहेकी सरस्वतीको पूजा गर्दा ज्ञान सिद्धि बुद्धिजीवी सद्बुद्धि प्राप्त हुने विश्वास गरिन्छ । आजैको दिनदेखि साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । दाँतले नचपाइकन ७ वटा गेडा चामल खुवाउने र अक्षरारम्भ गराउने चलन पनि कहिँकतै रहेको छ । आजैको दिनदेखि वसन्त ऋतुको सुरुवात भएको मानिन्छ । जाडो हट्ने, वसन्त ऋतुका लक्षणहरु देखिने हुँदा यस समयलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । बुद्धिवर्धक ज्ञान प्राप्त हुने हुनाले बालबालिका तथा विद्यार्थीले सरस्वतीलाई पूजा गर्ने गर्दछन् । आजकै दिन विवाह वर्तबन्ध लगायत धार्मिक कार्यहरु पनि सम्पन्न हुने गर्छन् । जुनसुकै कार्य गर्दाखेरि पनि साइत हेर्नु नपर्ने हुँदा आजको दिन विवाह वर्तबन्धका कार्यक्रमहरु धेरै हुने गर्दछन् ।आजैको दिन नाक कान छेड्ने चलन पनि रहेको छ ।

शैक्षिक संस्थाहरुले विभिन्न अतिरिक्त क्रियाकलापहरु गरेर यो पूजा मनाउने गर्दछन् भने कतिपय शैक्षिक संस्थाहरुले त आफ्नो संस्थाको वार्षिकोत्सव समेत यसै दिन गर्ने गर्दछन् । विभिन्न वादविवाद , वक्तृत्वकला, हाजिरीजवाफ, खेलकुद लगायत बालबालिकाहरूको मानसिक ,बौद्धिक, शारीरिक,संवेगात्मक विकाससँग सम्बन्धित कार्यक्रम गरी पुरस्कार वितरण गर्ने, रमाइला कार्यक्रमहरु गरेर सरस्वती पूजा भव्यरुपमा मनाउने गरेको पाइन्छ ।

प्राय : विद्यालयमा आफ्नै प्राङ्गणमा सरस्वतीका मन्दिर रहेका हुन्छन् । ती मन्दिरमा विधिविधानपूर्वक सरस्वतीको पूजा गरिन्छ ।ब्रह्मा , विष्णु , महेश्वरको शक्ति समेत समाहित भएकी र मान्छेलाई ज्ञान बुद्धि विवेकले भरिपूर्ण गरिदिने र त्यही आधारमा धनधान्यले पूर्ण हुन सक्ने सामर्थ्य व्यक्तिले राख्ने हुँदा सरस्वती पूजाको महत्व बढ्दै गएको हो । जतिसुकै धन सम्पत्ति कमाए पनि मानिसमा बुद्धि विवेक भएन भने त्यसको कुनै अर्थ रहँदैन । सरस्वतीले माया गरेको मान्छेलाई लक्ष्मीले मान्न गर्दिनन् भने पनि मानिस धनधान्यले पूर्ण भई त्यसको सदुपयोग र परिचालन गर्नको लागि पनि मानिस विवेकशील हुन जरुरी जरुरी छ । बुद्धि विवेकवान हुनको लागि सरस्वतीको कृपा आवश्यक पर्छ । अत : सरस्वतीलाई खुसी बनाउनु पर्ने देखिन्छ । सरस्वतीलाई सेतो पहेंलो मनपर्ने रङ हुन् । मिठाइँ, हलुवा खीर लगायत विभिन्न परिकारहरु बनाएर सरस्वतीलाई चढाउने चलन रहेको छ ।

मुलुकमा अहिले शैक्षिक लकडाउन छ । कोरोना महामारी छ । प्राय:विद्यालय बन्द छन् । घरघरमा विद्यालय छ । अनलाइन/वैकल्पिक विधिमार्फत पढाइ सञ्चालन भएको कारणले गर्दा त्यति धेरै भव्यताकासाथ सरस्वती पूजाका कार्यक्रम गर्ने परिस्थिति नरहे पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हरेक शैक्षिक संस्थाहरुले सरस्वती पूजा गर्नु आवश्यक छ । अहिले विद्यालय प्रायः बन्द रहेको अवस्थामा विद्यार्थी/बालबालिकाले पनि आफ्नो घरमा पाठ्यपुस्तक, कलम, कापी, किताबहरु पूजा गर्ने सरस्वतीको फोटामा पूजा गर्ने गरेर श्रद्धा भक्ति समर्पण गरी आफ्नो संस्कार संस्कृति बचाइराख्न जरुरी छ ।

बाँचिरहे अर्को साल विद्यालयमा भव्यताका साथ सरस्वती पूजा गर्न पाइन्छ । सतर्क रहौं,स्वस्थ रहौं । आजको दिनदेखि नयाँ नयाँ शैक्षिक,बौद्धिक, माङ्गलिक काम कुराहरूको थालनी गर्ने हुँदा पनि वसन्त पञ्चमी तथा सरस्वती पूजाको महत्व रहेको छ ।