दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो, अब दूध लिटरको ८५ रुपैयाँ

२०७८ माघ २७ गते प्रकाशित

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ । डीडीसी आयोजना कार्यालयहरु( काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुर)ं मा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ ।

यस्तै, वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । यस अघि काठमाडौंमा ७६, वुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटरमूल्य ७० रुपैयाँ थियो ।

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।

तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।