प्रयोगात्मक कृषि शिक्षाका नमुना बन्दै जिबिका कृषि विज्ञान कलेज

२०७८ फाल्गुन ६ गते प्रकाशित

काठमाडौंं । प्रयोगात्मक कृषि शिक्षाका लागि जिबिका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको छ । रामपुर चितवनबाट सम्बन्धन लिएर २०७५ सालदेखि जिविका कृषि बिज्ञान कलेज सञ्चालनमा ल्याएको हो ।

वि.सं. २०७१ सालमा कृषिमा उच्च शिक्षा दिने र उत्पादन प्रशोधन र बजारीकरणमा योगदान गर्ने उद्देश्यले स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालय ‘जिबिका कृषि विज्ञान कलेज’ जीविका कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याउको हो ।

जिबिका कृषि विज्ञान कलेजमा बिएस्सी कृषि पढाइ हुने गर्छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित यस कलेजमा अहिले दोस्रो, तेस्रो, र चौथो सेमेस्टरमा विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजमा विषेशगरी प्रदेश नम्बर १,२,३ र ४ का विद्यार्थीहरू अध्ययनरत छन् । जिबिका कृषि बिज्ञान कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन, पूर्वाञ्चल विश्वविद्यालय साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट पठनपाठन भइरहेको छ ।

कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गाई, बंगुर, बाख्रा, कुखुरा, हाँस, विभिन्न उन्नत जातका घाँसहरु, ड्रागन फल लगायतका बाली तथा वस्तुहरूको आधुनिक फाम निर्माणसमेत गरिरहेको छ ।

गाई फार्म विस्तारका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग सहकार्यगरी १ करोड संस्थाले र १ करोड आयोजनाले बेहोर्ने गरी सम्झौतानुसार काम भइरहेको छ । दाना उत्पादनका लागि गोदाम घर र डेरी सञ्चालनका लागि भवन र चिलिङ भ्याट समेत बनिसकेको छ । यस्तै गड्यौले मल र साइलेज पिट समेत निर्माण भइसकेको छ । करिब २० बिघामा फैलिएको यस संस्थाले धेरै योजनाहरू बनाएको छ ।।

यस संस्थाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट छोटो अवधिको तालिम सञ्चालन गर्ने योजना बनाएको रहेछ । कृषि र भेटेरिनरीसँग सम्बन्धित बाख्रापालन, डेरी, भेजिटेवल प्रोसेसिङ, बेमौसमी तरकारी खेती लगायतका विभिन्न विषयका लागि आवश्यक कार्य अगाडि बढाइसकेको छ । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर उक्त कार्यक्रमहरु अगाडि बढाउने कुरा प्रिन्सिपल डा. डिल्लीराम सेडाईले जानकारी दिए ।

जिबिका कृषि विज्ञान कलेजले कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने र किसानहरुका लागि कृषि व्यवसाय कार्यक्रम सञ्चालन गर्ने समेत योजना रहेको छ । जसमा कलेजले विज्ञहरुलाई कृषकका घरमा गएर कृषकको प्रविधि र व्यवसाय प्रवर्द्धन को बारेमा पाठ्यक्रम बनाएर ज्ञान र सीप सिकाउने छन् । कृषि प्राविधिकहरुलाई समुदायमा विस्तार गर्न प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघसंस्थाहरुसँग समेत समन्वय गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

जीविका कृषि विज्ञान कलेजले कृषि व्यवसायलाई प्रवर्द्धन गर्न जलवायु मैत्री गाई फारम, बाख्रा पालन, दाना उत्पादन, बाछाबाछि उत्पादन, माछा तथा तरकारी उत्पादनमा जलवायु मैत्री पद्धति अपनाएर कार्यक्रमहरु अगाडि बढाउने योजना रहेछ । समुदायमा समेत यो विधि प्रसार गर्ने र गर्न उत्प्रेरणा जगाउने छ । यसका लागि आवश्यक पर्ने प्राविधिक र सैद्धान्तिक ज्ञान कलेजको प्राबिधिक टिमले नै दिनेछ ।

जिबिका कृषि विज्ञान कलेजले प्रयोगात्मक कक्षाहरुका लागि विभिन्न प्रविधियुक्त आधुनिक फार्महरु निर्माण गर्दैछ । यस्ता फार्महरुले विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि महत्वपूर्ण सहयोग गर्नेछ । साथै कलेजले समुदायलाई कृषिसँग सम्बन्धित सेवाहरु जस्तै माटो परीक्षण, बाली संरक्षण, बीउ प्रविधिका लागि आवश्यक सहयोग समेत गर्ने योजना रहेको छ ।

अहिले कलेज सुरुवाती चरणमा रहेको, धेरै कामहरु हुँदै गरेको र धेरै कामहरुका योजनाहरु बन्दै गरेको छ । आगामी दिनमा सो कलेज विभिन्न अनुसन्धानात्मक क्रियाकलापहरु संचालन गर्ने ठाउँको रुपमा स्थापित हुने प्रिन्सिपल डा. डिल्लीराम सेढाईंले बताए ।

जीविका कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र अधिकारी र जीविका कृषि कलेज तथा सहकारीका व्यवस्थापक शिवकुमार डाँगीले जिबिका कृषि विज्ञान कलेजलाई एउटा नमूना कलेजको रुपमा अघि बढाउने बताए । पूर्वी क्षेत्रकै एउटा नमुना शैक्षिक गन्तव्यको रुपमा कलेज स्थापित गर्ने लक्ष्य समेत रहेको उनले बताए ।