औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने तयारी

२०७८ फाल्गुन १२ गते प्रकाशित

काठमाडौं । सरकारले गाँजा खेतीलाई औषधीमा प्रयोजनका लागि कानुनी मान्यता दिने तयारी गरेको छ । औषधीको प्रयोगको रुपमा मात्रै गाँजा खेतीको प्रतिवन्ध खोल्ने सरकारको तयारी छ । त्यसका लागि सकारले कानुन निर्माण गर्ने तयारी थालेको छ।

गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो। विधेयक फागुन १० गते गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएका छन्।

मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ। त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।

यो विधेयक कानुन भएर आएपछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज खुल्नेछ।