शिवरात्रिलाई विकृतिरहित मनाऔं-सम्पादकीय

२०७८ फाल्गुन १७ गते प्रकाशित

कर्पूर गौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।

सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।।

नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ।।

आज महाशिवरात्रि पर्व, फाल्गुण कृष्ण चतुर्दशी, देवाधिदेव महादेव शिवको जन्म तथा विवाह भएको दिन । शिव तथा आद्य शक्ति लोकहितकारी उमामहेश्वरको आराधना गर्ने दिनको रुपमा आजको दिनको महत्त्व रहेको छ । पशुपतिनाथमा देशविदेशका श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । काठमाडौ पशुपतिनाथ लगायत देशभरका शिवपीठ,शिवालयहरूमा भगवान शिवको पूजा अर्चना जलाभिषेक, रुद्राभिषेक गरेर शिवरात्री मनाउने गरिन्छ ।

बिहानदेखि शुद्धसँग स्नान गरेर पूजापाठ गर्ने भगवान शिवलाई मन पर्ने बेलपत्र ,दूध , धतुरो, खिर आदि वस्तु चढाउने गरिन्छ । भगवान् शिव संहारक शक्ति हुन् । शिव उत्पत्ति भएको दिनका रुपमा शिवरात्रिलाई लिने गरिएको छ । चारवटा रात्रिहरु कालरात्रि, मोहरात्रि , सुखरात्रि र शिवरात्रिमध्ये शिवरात्रिलाई विशेष महत्वका रूपमा लिने गरिएको छ । भगवान शिव प्रादुर्भाव भएको, शिवावतार लिएको, गौरा पार्वतीसंग विवाह भएको रात्रिको रुपमा समेत यसलाई लिइन्छ । भोले शङ्कर ,भगवान शिवको अर्को नाम आशुतोष हो ।

शिव अत्यन्त छिटो खुसी हुने र भक्तजनले मागेको वर पाउने हुनाले भगवान शिवलाई आशुतोष भनिएको हो । इहलोकमा सुखसमृद्धि र मृत्युपश्चात् स्वर्ग शिव सायुज्य मुक्ति प्राप्तिको कामना गर्नेहरु भगवान शिवको प्रार्थना ,पूजा आराधना गर्ने गर्दछन् । शिवको अर्थ कल्याण वा मङ्गल हो, भक्तजनको सधैं कल्याण गर्ने भएकोले सदा शिव पनि भनिन्छ । विवाहित अविवाहित महिला पुरुष सबैले शिवको उपासना गर्दछन् । व्रतमध्ये उत्तम व्रतको रुपमा शिवरात्रिलाई लिएको पाइन्छ । ओम् नमस् शिवाय जप्दै भगवान् शिवको प्रिय वस्तुको रुपमा दूध, धतुरो, बेलपत्र सहित शिवलाई पूजा आराधना गरेमा तथा महाज्योतिर्लिङ्गमा जलाभिषेक, रुद्राभिषेक गरेमा आशुतोष भगवान् शिव छिटो खुसी हुने र मागेको वरदान प्राप्त हुने हुनाले कलियुगमा शिवका उपासक बढी हुन्छन् भनिएको छ ।

सर्वसिद्धि दाता पर्वतराज शिव भोग र मोक्ष दुवै दिलाउने शक्ति,पापनाशकका रूपमा चिनिन्छन् । त्रिशूल , बज्र, डमरुलगायत आफ्ना विभिन्न यन्त्रको माध्यमबाट शिवले आफ्नो चमत्कार देखाउने गर्दछन्, ताण्डव नृत्य नाच्दछन् भने भैरव नाच गरी रिसाहा रूप प्रदर्शन गर्दछन् । आफूलाई अपमान गर्ने दक्ष प्रजापतिको यज्ञ विध्वंश गरी दक्षको टाउकोमा बोकाको टाउको जोडिदिने पनि शिव , तपस्याद्वारा खुशी बनाएको राक्षसले तपाईको पार्वती मलाई दिनुहोस् भन्दा पनि दिन तयार हुने अर्थात् खुसी भएमा भक्तजनलाई मागेको वर दिन तयार हुने , समुद्र मन्थन गरेर समुद्रबाट निस्केको विष पिएर घाँटी नीलो कालो बनाई पृथ्वी, मानव र चराचर सबैलाई रक्षा गर्ने शिवलाई निलकण्ठ भनिन्छ ।

घाँटीमा सर्पको माला धारण गर्ने, जटामा गङ्गा भएका, निधारमा प्रलयकारी ज्वाला भएका मसानको खरानी घस्ने बाघाम्बरधारी साँढे सवार शिवको शक्ति सामर्थ्य अपरम्पार रहेको छ । शिव कालकूट हलाहल विषपान गर्ने शक्ति सामर्थ्य भएका, भाङ धतुरो खाने खराब चिज खाएर पचाएर मानवमात्रको हित गर्ने भएको हुनाले अहिलेको समयमा धेरै मानिसहरुले आफूलाई सच्चा शिवभक्त मान्दै गाँजा भाङ खाएको पाइन्छ ।आफूलाई तथाकथित कट्टर शिवभक्त मान्नेहरुका कारण महाशिवरात्रिको अवसरमा विभिन्न विकृतिहरु देखिँदै आएका छन् ।

भारतबाट वर्षेनी यस अवसरमा नेपाल आउने अघोरी बाबा लगायतका बाबाहरुको नग्नता ,फुङ्फुङती धुवाँ उडाइ तथा बेसरम व्यवहारले विकृतिलाई पृष्ठपोषण गरेको देखिन्छ । युवाहरुले पनि गाँजा धतुरो खाने जाँड रक्सीसमेत सेवन गर्ने होहल्ला गरी शिवपीठहरुलाई विकृत गराउने गरेको पाइन्छ । शिवजीको नग्न मगन्ते रूप भयो भन्दैमा नग्न हुने आयातित बाबाहरुको मगन्ते स्वरूप तथा शिवको आदर्श पछ्याउन नसक्ने उनले हामी सबैलाई कल्याण गर्ने गरेका राम्रा कुराहरुलाई पालना गर्न सक्दैनौ । गलत कुराको अनुकरण गरेर विकृति भित्र्याउँछौ ।भगवान शिवले गरेका सबै काम गर्न अवश्य सक्दैनौ । अतः त्यसलाई प्रतीकात्मक रुपमा लिँदै उनले गरेका राम्रा कामको नक्कल गर्दै भगवान शिवलाई साँच्चै खुसी बनाउने हो सात्विक भोजन गर्नुपर्छ । शुद्धसँग स्नान, ध्यान, जप तप गरेर भगवानलाई खुसी तुल्याउन सकिन्छ । नेपाल सरकारले महाशिवरात्रिको अवसरमा सार्वजनिक विदा दिने गरेको छ ।

यस अवसरमा निस्वार्थ रुपमा भगवान शिवको पूजा आराधना गर्नुको सट्टा मनोरञ्जन खानपानमा सीमित भएको पाइन्छ । भगवानको प्रसाद सेवनको नाममा नशालु पदार्थ सेवन गरेको पाइन्छ । होहल्ला झैझगडा नगरी धार्मिक आध्यात्मिक सांस्कृतिक अनेक महत्व रहेको शिवरात्रिलाई विकृतिरहित रुपमा मनाउनु आजको आवश्यकता हो ।

हाम्रो कला संस्कृति रीतिरिवाज चाडपर्व पहिरन खानपान सबै विकृतिरहित हुनुपर्छ । महाशिवरात्रि पनि हाम्रो नेपाली संस्कृति हो जसलाई हामीले विकृतिको पुञ्ज बनाउनुहुँदैन र बन्न दिनुहुँदैन । ओम नमस् शिवाय, जय महाशिवरात्रि १

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आम उपभोक्ता समक्ष पु(याउँदै आएको सेवालाई अझ प्रभावकारी बनाउँदै …