काठमाडौं । लुम्बिनी प्रदेशबाट कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) कार्यक्रम सुरु भएको छ । लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष’ (आईएफएडी) ले करीब १० अर्ब रुपैयाँ (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।
६ वर्षसम्म चल्ने उक्त कार्यक्रमका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र आईएफएडी बीच २०७८ असोजमा सम्झौता भएको थियो । भिटा कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका बैकुण्ठ अधिकारीले तिलोत्तमा स्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आइतवार एक कार्यक्रमका बीच विधिवत शुभारम्भ गरेका छन् ।
कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो की भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई प्रष्ट पार्ने अवसर पाएको विश्वास व्यक्त गरे ।
उक्त अवसरमा बैंकका उप-महाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमले बजारको मागमा आधारित कृषि वस्तुको व्यावसायिकरण मार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण र प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको बताए ।
कार्यक्रमबाट प्रत्यक्ष रूपमा १ लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार हुने थापाले बताए ।
दातृ निकाय आईएफएडीबाट आवासिय निर्देशक रोशन कुकले आईएफएडी र नेपाल सरकारले विगत ४ दशकदेखी सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागू भएका विभिन्न आयोजना मध्ये भिटा सबैभन्दा ठूलो आयोजना रहेको बताए ।
त्यस्तै इनभेष्ट इन्भेष्टमेन्ट, नेदरल्याण्डका प्रतिनिधि रोबिन बुस्टेडले भिटासँगको सहकार्यमा बुटवल उपमहानगरपालिका १५ र १६ मा निर्माण हुने सेमलार बहुउद्धेशीय एकिकृत कृषि थोक बजारको गुरुयोजनाको बारेमा संक्षीप्त जानकारी दिए ।
कार्यक्रममा आईएफएडी परामर्शदाता श्यामबहादुर खड्काले सहभागीहरुबाट आएका जिज्ञासालाई प्रष्ट पारेका थिए । त्यस्तै कार्यक्रममा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवर्द्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले दातृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सहि ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने र यसबाट अधिकांस किसान लाभान्वीत हुने बताए ।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरि तथा आयात प्रतिस्थापन हुने गरि मूल्य श्रृंखलाको अवधारणा अनुसार नै लगानी गर्ने बताए ।
कृषि लगानीका लागि अगूवा बैंकको रुपमा अघि सारेको कृषि विकास बैंकलाई यो कार्यक्रमको लागि ६ वर्षमा करीब १० अर्ब रुपैयाँ उपलब्ध हुने छ ।