सात महिनामा साढे ३२ अर्बको चामल आयात

२०७८ फाल्गुन २३ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा भारतलगायत अन्य मुलुकबाट नेपालले साढे ३२ अर्बभन्दा बढीको चामल आयात गरेको छ । भन्सार विञभागको तथ्यांकअनुसार, भारतलगायतका दर्जन बढी मुलुकबाट सो अवधिमा नेपालले ३२ अर्ब ३८ करोड ७७ लाख ६५ हजार बराबरको चामल आयात गरेको हो ।

सबैभन्दा बढी चामल आयात भारतबाट भएको छ भने अन्य दर्जन मुलुकबाट पनि चामल नेपाल भित्रिएको हो । सरकारले देशलाई प्रमुख खाद्यबालीमा आत्मनिर्भर बनाउने योजना बनाए पनि भारतबाट चामललगायतका कृषिउपजको आयात बढ्दै गएको हो ।

विभागको तथ्यांकअनुसार, धानको बीउ, मसिनो र बासमतियुक्त चामलको आयात बढेको हो । सो अवधिमा भारतबाट मात्रै ३२ अर्ब १६ करोड बराबरको चामल आयात भएको छ भने चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, भियत्नाम, अष्ट्रेलिया, जापान, इन्डोनेसियालगायतका अन्य मुलुकबाट पनि चामल आयात भएको देखिन्छ ।