काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले ५० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि बोलपत्र आह्वान(टेण्डर) गरेको छ । कम्पनीले मंगलबार ३० हजार मेट्रिक टन युरिया र २० हजार मे.टन डीएपी मल खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।
उक्त मल आगामी असार मसान्तसम्म अर्थात बर्खे सिजनसम्म आइपुग्ने कम्पनीका कायममुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले कृषिपानालाइ जानकारी दिए । उनले आगामी बर्खे बालीको सिजनका लागि मलको अभाव हुन नदिने बताए ।
‘५० हजार टन मलका लागि शनिबार टेण्डर गर्यौं । त्यो मल असार मसान्तसम्म आइपुग्छ । जीटुजीको मल आउँला’ उनले भने, ‘ आउँदो बर्खे सिजनमा मलको हाहाकार नहोस् भनेर हामी सचेत छौं ।’
नेपाल र भारत सरकार- सरकारबीच(जीटुजी) मार्फत मल ल्याउन दुवै देशबीच समझदारी भइसकेको छ । यसवर्ष १ लाख ५० हजार मेट्रिक टन मल जीटुजीमार्फत ल्याउने समझदारीमा उल्लेख छ ।
सो मल आएमा केही हदसम्म मलको अभाव टर्ने कार्कीले बताए ।