काठमाडौं । सरकारले गत २०७४ जेठ २९ मा मुलुुक ‘बर्डफ्लू’ मुक्त घोषणा गर्यो । तत्कालीन पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले देश बर्डफ्लूमुक्त भएकाले उपभोक्ताले कुखुराको मासु ढुक्कसग खान र किसानले पनि कुखुुरा तथा पोल्ट्रीमा ढुुक्कले लगानी गर्ने वातावरण बनेको बताएका थिए ।
सरकारले देश बर्डफ्लूमुक्त घोषणा त गर्यो । तर, पछिल्ला वर्षमा देशका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणले कुखुरा नष्ट हुँदा किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ । पछिल्लो डेढ महिनायता काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंलगायतक्षेत्रमा कुुखुराजन्य पंक्षीमा ‘बर्डफ्लू’ भेटियो । केही दिनअघि पोखरा, चितवनलगायतका क्षेत्रमा पनि बर्डफ्लूका कारण किसानले पालेका हजारौं कुखुराहरु नष्ट गरियो । अहिले पनि देशका विभिन्न क्षेत्रमा बर्डफ्लूको जोखिम उत्तिकै छ ।
सरकारले कागजमा देश बर्डफ्लुमुक्त घोषणा गरे त्यसको रोकथाम र नियन्त्रणमा चुुक्दै आएको छ । त्यतिमात्र होइन, देश बर्डफ्लूमुक्त भएको घोषणा गरिएको झन्डै पाँच वर्षपछि सरकारले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ जारी गरेको छ ।
गत माघ ३ गते सरकारले मन्त्रिपरिषद्बाट सो नियमावली स्वीकृत गरेको छ । बर्डफ्लू नियन्त्रणमा देखिएका अस्ष्पटता व्यवस्थित गर्न नियमावली ल्याइए पनि त्यसको ठोस् उपलव्धि देखिएको छैन् ।
सरकारले बर्डफ्लू नियन्त्रणमा लागि परेको र नियन्त्रणका लागि कुखुरापालक किसान, व्यवसायी, कर्मचारी र आम उपभोक्तासमेत सजग र सचेत हुनुुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुतर्फ) सचिव निरु दाहाल पाण्डेले बताइन् । बर्डफ्लू नियन्त्रण गर्न नियमावली आइसकेको बताउँदै उनले सरकारले आफ्नो ढंगले नियन्त्रणको प्रयास अघि बढाइरहेको बताइन् ।