किसानको पौने २ करोड क्षतिपूर्ति नदिई भागे काष्ठमण्डपका सञ्चालक

२०७८ फाल्गुन २७ गते प्रकाशित

काठमाडौं । नक्कली डी वाई २८ जातको धानको बीऊ वितरण कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्टका सञ्चालक मधुुसुदन श्रेष्ठ यतिबेला भूमिगत छन् । किसानलाई उचित क्षतिपूर्ति दिने लिखित सम्झौता गरेका कम्पनीका सञ्चालक श्रेष्ठ भूमिगत तथा सम्पर्कविहीन बनेपछि यतिबेला देशभरका किसान आन्दोलित बनेका छन् ।

किसानलाइ क्षतिपूर्ति नदिने बाहना बनाउँदै कानुनी छिद्रको प्रयोग गरि कम्पनीका सञ्चालक सम्पर्कविहीन बनेको अखिल नेपाल किसान महासंघ, ललितपुरका अध्यक्ष रामहरी पौडेलले बताए । उनका अनुसार, काष्ठमण्डपले १ करोड ७४ हजार रुपैयाँ बराबर रकम किसानलाई क्षतिपूर्तिबापत दिनुपर्छ । तर, अधिकांश किसानलाई कम्पनीले लामो समयदेखि क्षतिपूर्ति दिने आश्वासन दिए पनि अहिले सम्पर्कविहीन भएकाले किसानलाई तत्काल क्षतिपूर्ति दिलाउन उनले सरकारसमक्ष माग गरे ।

काष्ठमण्डपले चिनियाँ जातको डी वाई २८ हाइब्रीड धान भन्दै काठमाडौं उपत्यकाका किसानलाई बिक्रि वितरण गरेको थियो । गत कात्तिकमा उक्त धानको बीऊ लगाएका किसानको खेतमा धानले बाला नहालेर भुसमात्रै फलेपछि किसानलाई ठूलो नोक्सानी परेको थियो ।

भक्तपुरको चागुनारायण नगरपालिका र सुुर्यविनायक नगरपालिकालगायत काठमाडौं उपत्यकाका झन्डै २ हजार ४ सय २१ परिवारका किसानहरुले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् ।