काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन।
महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी पुुन निर्वाचित भएका हुन। सिंहले ७६५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भए ।
यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन।
कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमशः रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएको महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले जानकारी दिए। महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भए। उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भए। यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश ः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भए । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।