काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि निजी क्षेत्रको नेपाल डेरी एशोसिएसनले सरकारसमक्ष ११ बुँदे सुुझावपत्र पेश गरेको छ । एशोसिएसनले दूध र डेरी क्षेत्रमा देखिएको समस्या र समाधान गर्नुपर्ने उपायसहितको सुझावपत्र पेश गरेको हो ।
एशोसिएनका अनुसार, विश्वव्यापी कोरोना महामारीका कारण हाल नेपालमा दुधको उत्पादन घटेको छ । केही वर्ष अघिसम्म नेपालमा करिव १५–१६ अर्बको दूध तथा दुग्ध पदार्थ आयात हुने गर्दथ्यो भने हाल निजि क्षेत्रको लगानी पछि वार्षिक १ अर्व करिबको मात्र आयात भइ घटेको देखिन्छ । संघले सुझावपत्र अर्थ मन्त्रालयका सचिव र योजना प्रमुखलाई बोधार्थ गर्दैँ सुुझाव पेश गरेको जनाइएको छ ।
यस्ता छन, एशोसिएनले पेश गरेका सुझावहरुः
१. २०७२ को भुकम्प अनि हाल कोभिडको कारण दूध उत्पादनमा निकै कम हुन गएकोले अत्यन्तै समस्या छ । त्यसैले उत्पादन लागत घटाउन र दुग्ध क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय दुग्ध विकास वोर्ड, पशु सेवा विकासलाई कृयासिल बनाउनको लागि बजेट छुट्याउनु पर्यो।
२. हाम्रो देशको दुधको उत्पादनका विविधता छ । कार्तिकदेखि फागुनसम्म दूध बढी हुन्छ भने चैतदेखि आश्विनसम्म दूध नपुग हुन्छ । त्यसैले बढी भएको दुधलाई धुलो दूध बनाएर राख्ने र लामो समयसम्म राख्न मिल्ने दुग्ध पदार्थ बनाएर राख्ने अनि दूध कम भएको बेला प्रयोग गर्ने गरिन्छ । तर त्यसको लागि उद्योगमा चालू पुजी कम हुँदा ठूलो समस्या हुने गरेको छ । धुलो दुध बनाउँदा प्रती केजि १६– २१ रुपैयाँसम्म नोक्सानी हुने गरेकोले त्यसको लागि अनुदानको व्यवस्था गरिनु पर्यो । अनि स्वदेशी उद्योगलाई बिदेशी आयातित सामानसँग प्रतिस्पर्धा गर्न सहुलियत दरमा सहज रुपले कर्जा लगानी गर्ने व्यवस्था हुन पर्यो ।
३. हामी कहाँ अहिले पनि बाहिरबाट विभिन्न किसिमका आइसकृम आयात हुन्छ । अनि यहाँ हामीलाई आवश्यक आइसकृमको विभिन्न फ्लेभर आयात गर्नु पर्ने हुन्छ । आयात हुने फ्लेवरमा ३० प्रतिशत भन्सार लाग्छ तर आयातितमा जम्मा १५ प्रतिशत भन्सार लाग्छ । यसले कसरी स्वदेशी उत्पादन बाँच्न सक्ला त ? त्यसैले आयातित आइसकृममा भन्सार दर बढाइदिनु पर्यो ।
४. दूध प्रशोधनमा आधिकारिक र कुनै पनि निकायमा दर्ता नभई घरेलु तवरले उत्पादन गरी टोल टोलमा डेरी खोली खुल्ला रुपमा विक्री वितरण भइरहेको छ र यस डेरीको बजार हिस्सा पनि धेरै भएकोले यिनिहरुलाई दर्ताको दायरामा ल्याई राजस्व संकलनमा समेत बढाउने कार्य गरियोस् । अथवा साना साना यस्ता डेरीहरु एकीकृत गरि संयुक्त लगानी गरि उद्योग लगाउन चाहेमा अनुदान प्रदान गरियोस् । यसले गर्दा फर्मल सेक्टरको बजार बढ्न गैइ इनफर्मल सेक्टर घट्न जानेछ ।
५. कच्चा दूधको गुणस्तर लामो समय कायम राख्न दूध ओसार पसार गर्न आवश्यक रोड मिल्क ट्यांकर च्यासिस, रेफ्रिजेरेटेड भ्यान, चिलिङ्ग भ्याटमा भन्सार महशुल १ प्रतिशत भन्सार दर कायम गर्न आवश्यक छ ।
६. स्वदेशी उत्पादनलाई विदेशबाट आयात हुने दुग्धजन्य पदार्थहरुसंग प्रतिस्पर्धि बनाउन डेरी उद्योग आफैंले विदेशबाट छपाई गरी ल्याउने दूध तथा दुग्धजन्य पदार्थहरुको प्याकेजिङ्ग मेटरियलको भन्सार महशुल हाल ४०% रहेकोले विदेशी तयारी बस्तु जस्तै आइसक्रिम, चीज, बटरसंग स्वदेशी उत्पादन प्रतिस्पर्धि बनाउन प्याकेजिङ्ग मेटरियलको भन्सार महशुल कम गर्न आवश्यक छ ।
७. दूधको गुणस्तर लामो समयसम्म टिकाई राख्न दूध उत्पादन प्रशोधन र भण्डारण ठूलो परिमाणमा विद्युतको उपयोग हुने भएकोले गाउँ गाउँमा उत्पादन हुने दूधको बजार सुनिश्चित गर्न डेरी उद्योग तथा चिस्यान केन्द्रले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत छुट दिन आवश्यक छ ।
८. हाल दुग्ध प्रशोधन व्यवसायमा सरकारी दुग्ध विकास संस्थान, सहकारी उद्योगहरु र नीजि उद्योगहरु रहेका छन् र नीजि क्षेत्रको बजार हिस्सा ७० प्रतिशत रहनुको साथै दुग्ध प्रशोधन उद्योगमा नीजि क्षेत्रको करिव ३० अर्ब लगानी छ । जनताले दिएको करको रकमबाट केन्द्र सरकार एवं ७ वटै प्रदेश सरकारले कुनै न कुनै रुपमा सरकारी दुग्ध विकास संस्थान र सहकारी संस्थालाई प्रशोधन उद्योग खोल्न र क्षमता विस्तार गर्न अनुदान उपलब्ध गराउँदा नीजि उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता गुम्न गई लगानी डुब्ने खतरा भएकोले नीजि, सरकारी र सहकारी उद्योगलाई एकै किसिमको समान ब्यवहार गरिनु पर्दछ ।
९. डेरी क्षेत्रमा अनुदानभन्दा पनि सहुलियत दरको कर्जा नै उत्तम हो भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ ।
१०. डेरी क्षेत्रले अहिले वार्षिक रुपमा २ अर्ब कर तिर्ने गरिएको छ । यदि अझ सहज रुपले डेरी क्षेत्रको विकास गरिने हो भने अझ बढ्न सक्छ ।
११. बिना ठूलो लगानी मिल्क होलिडे हटाउन ठूलो मद्धत गरेको छुर्पी उत्पादनलाई प्रोत्साहन गरि यो हाम्रो मौलिक उत्पादनलाई बचाई यसलाई हाम्रो देशको सम्पत्तिको रुपमा बचाई राख्नको लागि छुर्पीको प्याटेन राइट लिइनु पर्यो । अन्यथा गुन्द्रुक, जनै , सराद्यको सामाग्री पठाउने चाइना लगायत अन्य देशले क्लेम गरिदिन सक्छ र हाम्रो मौलिकता गुम्न सक्छ ।