काठमाडौं । हरेक वर्ष बालीनाली लगाउने बेलामा किसानले रासायनिक मल नपाउने समस्यालाई मध्यनजर गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि मल खरिद गर्न स्रोत सुनिश्चितता गरेको छ । आगामी आवमा मलको अभाव हुन नदिन सरकारले १ लाख ४२ हजार मेट्रिक टन बराबर मलका लागि स्रोतको सुनिश्चितता गरेको हो ।
खासगरी, अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि आगामी आर्थिक वर्षका लागि १२ अर्ब ७६ करोड रुपैयाँको स्रोतको अहिले नै सुनिश्चितता गरेको हो । अन्र्तराष्ट्रियस्तरमा मूल्यमा हुने उतारचढावलाई दृष्टिगत गरी १ लाख ४२ हजार मेट्रिक टन मल खरिदका लागि अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता गरेको कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले कृषिपानालाई जानकारी दिए ।
उनले विगतका ख्यातीप्राप्त आपूर्तिकर्ता कम्पनीले पनि ठेक्कामा रुची देखाएकाले तोकिएको समयसीमाभित्रै मल आपूर्ति हुने बताए । उनले आउँदो धानबाली र गहुँ सिजनका लागि मलको अभाव हुन नदिन ठेक्का आह्वान गरिरहेको र जीटुजीमार्फत पनि मल आउने जानकारी दिए ।
‘अन्र्तराष्ट्रिय मूल्य घटबढ भइरहेको छ । त्यसकारण १ लाख ४२ हजार मेट्रिक टन परिमाणमा मल खरिद गर्न अर्थ मन्त्रालयबाट स्रोतको सुनिश्चितता भएको छ’ उनले भने, ‘यसपाली मैले ख्यातीप्राप्त आपूर्तिकर्ताले ठेक्कामा रुची देखाएका छन । यसले समयमै मल आपूर्ति गरेर किसानलाई वितरण गर्न सक्छौं भन्नेमा म विश्वस्त छु ।’
यस वर्षको बजेटबाट कम्पनीले ५० हजार मेट्रिक टन मलका लागि यसअघि नै ठेक्का आह्वान गरिसकेको छ । आगामी आवमा स्रोत सुनिश्चितता भएसँगै एक लाख मेट्रिक टन मल कृषि सामग्री कम्पनी र ४२ हजार टन मल साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउनेछन् ।
यता, चालू आर्थिक वर्षका लागि नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) मार्फत डेढ लाख मेट्रिक टन मल ल्याउने दुवै देशबीच सम्झौता भइसकेको छ । सरकारले चालू आर्थिक वर्षमा मल खरिदका लागि १६ अर्व रुपैयाँ बजेट छुट्याएको थियो ।