काठमाडौं । राष्ट्रिय खाद्य बैंकले बौद्धस्थित तिनचुलीमा पहिलो पटक आरकेबी मार्ट सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमकाबीच बैंकले विभिन्न अर्गानिक र रैथाने खाद्यान्नसहितको मार्ट शुभारम्भ गरिएको हो ।
किसानबाट उत्पादन गरिएको कृषि उपज बजारमा ल्याइएकाले अर्गानिक र बाहिरभन्दा सस्तोमा उपलब्ध गराइने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
उनले मार्टमा विभिन्न १०० प्रकारका कृषिउपजका आइटम उपलब्ध रहेको बताए । चालू आवभित्र लोकन्थली र कलंकीमा पनि बैंकले मार्ट सञ्चालनमा ल्याउने बताए ।
बैंक स्थापनाको एक वर्षभित्रै मार्ट सञ्चालनमा ल्याउन सफल भएको उनले बताए । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि पर्वतारोही तथा कृषि उद्यमि आङ तेवा शेर्पाले राष्ट्रिय खाद्य बैंकले रैथाने, अग्यानिक खाद्यवस्तु आफै उत्पादन गरि उपभोक्तासम्म पुर्याउन सफल भएको बताए । कृषिक्षेत्रमा बढिभन्दा रोजगारी र दक्ष जनशक्ति उत्पादनमा पनि बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मार्टमा खासगरी विभिन्न प्रकारका चामल, गेडागुडी, खुदो, सखर, पिठो, सुर्खानी, मह, घिउ, मकैको च्याख्ला, फापर, टिमुरलगायत रैथाने तथा स्थानीय खाद्य वस्तु उपलब्ध छन्।
बैंकले उपभोक्ताको घर-घरमा पुर्याउने गरि होम डेलिभरी सेवा सुरु गरेको छ भने फोन सम्पर्क गरी तथा मोबाइल एप्समार्फत सजिलै घरमा बसि आवश्यक खाद्यवस्तुको अर्डर दिन सकिने छ ।