शलोम पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको आवश्यक तयारी पूरा

२०७८ चैत्र ६ गते प्रकाशित

काठमाडौं । आउँदो चैत ९ देखि १२ गतेसम्म चल्ने शलोम पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको आवश्यक तयारी पूरा भएको छ । चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनीका आवश्यक तयारीका काम पूरा भएको आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले कृषिपानालाई जानकारी दिए ।

‘पाँचौं शलोम कृषि यान्त्रीकरण प्रदर्शनीको आवश्यक तयारी करिब करिब पूरा भएको छ । हामी पनि चितवनतर्फ लाग्दैछौं’ उनले भने, ‘प्रदर्शनीमा कृषि यन्त्र, औजारका लागि स्टल निर्माण, अवलोकनकर्ताका लागि ठाउँ र अन्य कामहरु सकिनै लागेका छन ।’

प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण र प्रविधिको बृहत प्रदर्शनी हुने जनाइएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा सो प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा १५० भन्द्या बढी प्रदर्शनीकर्ता वा स्टलहरु रहनेछन् । विभिन्न २० ओटा मुलुकका कृषि यन्त्र, औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछ । करिब २ हजार प्रकारका विभिन्न मेसिनरी उपकरण तथा औजारहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै १ लाखभन्दा बढी अवलोकर्ताको सहभागीता हुने र २० करोडभन्दा बढीको कारोबार हुने जनाइएको छ । कृषिकलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिको बारेमा जानकारीमार्फत आधुनिक प्रविधिमा बहुआयामिक व्यवसायिक कृषिमा आकर्षित गराई देशको कृषि उत्पादन वृद्धि गर्ने प्रदर्शनीको मूख्य लक्ष्य छ ।

‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नाराका साथ हुने प्रदर्शनीमा स्वदेशी यन्त्र उपकरण र वस्तुहरु प्रदर्शनीमा राखिने जनाइएको छ । सो मेलालाई ‘मेड इन नेपाल प्याभिलियन’ समेत भनिएको छ ।

प्रदर्शनीमा कृषि कर्जा मेला समेत हुने जनाइएको छ । किसान र बैंकिङ क्षेत्रमा देखिएको समस्या हल गर्न र किसानलाई बुझ्न बुझाउन पहिलो पटक कृषि कर्जा मेला आयोजना गरिएको जनाइएको छ ।