धमला डेरीका दूध ढुवानी सवारी साधनलाई प्रतीक चिन्ह प्रदान

२०७८ चैत्र ८ गते प्रकाशित

भक्तपुर । धमला डेरीका दूध ढुवानी सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गरिएको छ । धमला डेरीका सवारी साधनलाई राष्ट्रिय दुग्ध विकासद्वारा एक कार्यक्रमका विच ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले लोगो हस्तान्तरण गरिन् ।

दुग्ध उद्योग, कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका बेला गाडीमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्दा सबैलाई सहज हुने सरोकारावालाले बताएका छन्। बन्द, हड्ताल लगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा बेला बेला हुने रोकावट लोगोको प्रयोगबाट हुट्ने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति पुग्ने हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी प्रगोग गर्न सुरु गरेको हो । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको थियो ।

दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिकरुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारी समेत वृद्धि हुने कुरा उपमेयर सत्यालले धारणा राखिन्।