पहिलो पटक कृषि कर्जा मेलाः किसानले कर्जा पनि पाउँछन ?

२०७८ चैत्र ८ गते प्रकाशित

काठमाडौं । चैत ९ अर्थात भोलीदेखि शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुँदैछ । चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल मेसिनरी व्यवसायी संघले जानकारी दिएको छ ।

उक्त प्रदर्शनीमा कृषि यन्त्र, उपकरण, औजार तथा प्रविधिको बृहत प्रदर्शनी हुनेछ भने ‘मेड इन नेपाल प्याभिलियन’ समेत हुनेछ । प्रदर्शनीको विशेषक आकर्षकको रुपमा पहिलो पटक कृषि कर्जा मेला समेत आयोजना गरिँदैछ ।

खासगरी, कृषि कर्जा मेलामा किसानले पनि विभिन्न बैंकबाट कर्जा पनि पाउँछन् भन्ने भ्रम हुन सक्छ । तर, कृषि कर्जा मेलामा किसानले बैंकबाट ऋण वा कर्जा पाउने भन्ने होइन् ।

बरु, अहिले कृषि कर्म गरिरहेका किसानहरुले लगानी गर्न बैंकबाट कर्जा लिन के–के गर्ने र सहज रुपमा बैंकहरुले किसानसमक्ष कर्जा पुर्याउन के कस्ता उपाय अपनाउन सकिन्छ भनेर बैंक र किसानसँग जोड्ने थलो उक्त प्रदर्शनीले जुटाइदिएको छ । किसान र बैंकिङ क्षेत्रमा देखिएका समस्या हल गर्न र किसानलाई बुझ्न बुझाउन पनि प्रदर्शनी कोशेढुंगा हुने आयोजकले जनाएको छ ।

कृषि कर्जाका क्षेत्रमा यो दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको आयोजकले जनाएको छ । निजीक्षेत्र, सरकार, सरोकारवाला, किसान र बैंकलाई एकै थलोमा राखेर कृषि कर्जा प्रवाहमा देखिएका समस्या र बैंकिङ क्षेत्रका ‘हडल’हरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल हुनेछ ।

कर्जाको विस्तार र लगानीको अभावमा कृषिक्षेत्र पछाडी नपरोस भन्ने उद्धेश्यले कृषि कर्जा मेला पहिलो पटक गर्न लागिएको कृषि कर्जा मेलाका संयोजक शुस्मा शर्माले कृषिपानालाई जानकारी दिइन् ।

‘टाठाबाठाले मात्र कृषि कर्जा पाइरहेका छन भन्ने एकातिर किसानको गुनासो छ भने वास्तविक किसान नै चिन्न गाहे भयो भन्ने बैंकहरुको ‘कन्सन’ छ’ उनले भनिन, ‘यी दुवै कुरालाई एउटै थलोमा सबैलाई बोलाएर कसरी कृषिको कर्जा सरल र सुलभ तरिकाले उपलव्ध गराउन सकिन्छ भन्ने नै मेलाको उद्धेश्य हो ।’

कृषि कर्जा दिन सुरु भएको ८ वर्ष हुँदा हालसम्म ५८ हजार जना किसानले मात्र कर्जा पाएको तथ्यांक छ । कृषि कर्जा प्रवाहमा समस्या कहाँ छ र किन कृषि कर्जा विस्तार हुन सकेन भन्ने प्रश्न उठेकाले त्यसका लागि मेलाबाट एउटा दस्तावेज बनाउने शर्माको भनाई छ ।

कृषि कर्जासँगै बीमा पनि किसानको आकर्षण बढ्न सकेको छैन् । किसानलाई कृषि बीमामा कसरी आकर्षित गर्न सकिन्छ र बैंकले पनि कसरी किसानसम्म पुगेर बीमा गर्न सक्छ, यी यावत बिषयमा पनि किसान र बैंकबीच ‘प्यानल डिसकसन’ हुने उनले बताइन् ।

कृषि कर्जा मेला संयोजक शुस्मा शर्मा

कृषि कर्जा मेलालाई उनले कृषिक्षेत्रको वित्तिय शाक्षरताकै रुपमा अघि बढाएको बताइन् । मेलामा कृषि कर्जा ‘क्लिनिक’ पनि रहनेछ । जहाँ नबिल बैंकसँग विभिन्न बैंकको सहभागीता रहनेछ ।

कर्जा लिन चाहने किसानले उक्त कृषि कर्जा ‘क्लिनिक’मा आएर आफ्ना विवरण र आवश्यक कागजात पेश गर्ने र बैंकहरुले सहजीकरण गर्नेछन् । कृषि कर्जा मेलामा ३० वटा बढी बैंक र बीमा कम्पनी सहभागी हुनेछन् । कृषि विकास बैंक र नविल बैंकको मुख्य प्रायोजनमा उक्त कृषि कर्जा मेला हुनेछ ।
पहिलो दिन कृषि कर्जा मेलाको उद्घाटन सत्र रहनेछ ।

पहिलो दिन कृषि कर्जामा देखिएका विद्यमान समस्या र अवस्थाबारे प्रस्तुतीकरण रहनेछ । नीतिगत रुपमा के के समस्या छन् भनेर वक्ताहरुले प्रस्तुतीकरण गर्नेछन् ।

दोस्रो दिनको सत्रमा ‘वर्कसप’ मोडल रहनेछ । सो सत्रमा प्रेरक वक्ताहरुको प्रस्तुतीकरण र ‘प्यानल डिसकसन’हुनेछ ।६ वटा समुहगत टेबलमा छ किसिमका छुट्टाछुट्टै किसान हुनेछन् । एउटा टेवलमा ठूला कृषकहरु जो अहिले सफल भएका छन । अर्को टेबलमा आजसम्म ऋण नलिएका किसान हुनेछन् ।

अर्को टेबुलमा कृषि कर्जा लिएका साना किसान तर, धेरै समस्या ‘फेस’ गरेका किसान हुन्छन् । छुट्टाछुट्टै समुहगत किसानले के के समस्या र ‘हडल’ छन्, ती प्रश्नहरु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वा प्रतिनिधीसँग राख्नेछन् । बैंकका प्रतिनिधी, कृषि मन्त्रालयका प्रतिनिधी र सरोकारवाला निकायबीच बसेर के–कसरी समस्या समाधान गर्ने भनेर निष्कर्ष निकालिनेछ ।

कृषि कर्जा प्रवाहमा देखिएका समस्या किसानकै मुखमा सुन्न र सुनाउन सकिनेछ ।