शलोम पाँचौं कृषि यान्त्रीकरण प्रदर्शनी आजबाट सुरु, २० करोडको कारोबार हुने अपेक्षा

२०७८ चैत्र ९ गते प्रकाशित

काठमाडौं । शलोम पाँचौं कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ आजबाट सुुरु भएको छ । चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनी चार दिनसम्म चल्नेछ । कोरोना महामारीका कारण स्थगित हुुँदै आएको पाँचौं शलोम कृषि यान्त्रीकरण प्रदर्शनीको मूल नारा ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’ राखिएको छ ।

प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण र प्रविधिको बृहत प्रदर्शनी हुने जनाइएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा सो प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ता वा स्टलहरु रहनेछन् । विभिन्न २० ओटा मुलुकका कृषि यन्त्र, औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछ । करिब २ हजार प्रकारका विभिन्न मेसिनरी उपकरण तथा औजारहरु प्रदर्शनीमा राखिनेछ ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै १ लाखभन्दा बढी अवलोकर्ताको सहभागीता हुने र २० करोडभन्दा बढीको कारोबार हुने जनाइएको छ । कृषिकलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिको बारेमा जानकारीमार्फत आधुनिक प्रविधिमा बहुआयामिक व्यवसायिक कृषिमा आकर्षित गराई देशको कृषि उत्पादन वृद्धि गर्ने प्रदर्शनीको मूख्य लक्ष्य छ ।

प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ सँगै मुख्य आकर्षणको रुपमा कृषि कर्जा मेला समेत रहनेछ । किसान र बैंकिङ क्षेत्रमा देखिएको समस्या हल गर्न र किसानलाई बुझ्न बुझाउन पहिलो पटक कृषि कर्जा मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।