आउँदो सिजनमा रासायनिक मलको अभाव नहुने

२०७८ चैत्र ९ गते प्रकाशित

काठमाडौं । आउँदो सिजन अर्थात धानबालीको सिजन(असार–साउन) मा रासायनिक मलको अभाव नहुने भएको छ । सरकारले भारतसँग दुवै देशका सरकार–सरकारबीच(जीटुजी)मा हस्तक्षर गरेअनुसार भारतले मल दिने भएपछि मलको अभाव टर्ने भएको छ ।

जीटुजीमार्फत भारतबाट यसवर्ष झन्डै डेढ लाख मेट्रिक टन मल आउने गरी समझदारी भइसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार जीटुजीविधिमार्फत भारतबाट आउने मलले आउँदो धानबालीको सिजनलाई माग धान्नेछ । कृषि सामग्री कम्पनीले पनि जीटुजीको मल जेठसम्म आइपुग्ने जनाएको छ । कम्पनीले केही हप्ताअघि मात्र ५० हजार टन मलका लागि टेण्डर गरिसकेको छ ।

जीटुजीमार्फत मल आएपछि आउँदो धानबालीको माग पुर्याउने प्रयास गरिएको कम्पनीका कायममुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले जीटुजीको मल छिटो भन्दा छिटो ल्याउन गृहकार्य भइरहेको जानकारी दिए ।

भारतबाट जीटुजी प्रक्रियाबाट ल्याउने मल कृषि सामग्री कम्पनीले नै ल्याएर किसानलाई वितरण गर्नेछ । ‘किसानलाई धानबालीको सिजनका बेला आवश्यक पर्ने मलको अभाव हुन नदिन हामी सचेत छौं’ कार्कीले भने, ‘त्यसका लागि ग्लोबल टेण्डरमा नयाँ र अनुभवी आपूर्तिकर्ताले पनि रुची देखाइरहनुभएको छ भने जीटुजीको सम्झौताअनुसार मल ल्याउन हामी लागि परेका छौं ।’

सरकारले पनि आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिदका लागि साढे १२ अर्ब रुपैयाँ स्रोतको सुनिश्चितता गरिसकेको छ । अर्थ मन्त्रालयले बजेट पूर्व नै मल खरिदका लागि उक्त स्रोतको सुनिश्चितता गरेको हो ।

यता, कोभिडका कारण चीनिँया नाकामा रोकिएको रासायनिक मल आपूर्तिका लागि पनि पहल भइरहेको कार्कीले कृषिपानालाई जानकारी दिए । यसअघि नै चीनियाँ नाकाको अवरोधका कारण करिब १५ हजार मेट्रिक टन मल आउन सकेको छैन् ।

देशभर करिब ६ लाख मेट्रिक टन रासायनिक मलको माग छ । उक्त मागबमोजिमको मल आपूर्ति हुन नसक्दा हरेक वर्ष किसानले खेती लगाउने समयमै मलको अभाव खेप्नुपर्छ ।