राँझा । खजुरा गाउँपालिकाका क्रियाशील महिला उद्यमी समूह सहकारी संस्थामा रुपान्तरण हुन थालेका छन् । उक्त गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत विभिन्न समूहमा आवद्ध महिला अब सहकारीको बाटोमा अग्रसर हुन थालेका हुन् ।
गाउँपालिकाका तीन हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरूको आर्थिक, सामाजिक रुपान्तरण गर्न लागिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनका अनुसार अहिले महिलालाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा जानकारी दिने काम भइरहेको छ ।
व्यावसायिक विकासका लागि उत्पादित सामग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधि, वित्तीय सेवा बचत ऋण र बिमा, बजारीकरणका लागि मार्केट सेन्टरको खोजीलगायत फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको अध्यक्ष कक्षपतिको भनाइ थियो ।
हेफर नेपालको प्राविधिक सहयोग र इन्रुडेकसँगको साझेदारीमा गाउँपालिकाले सञ्चालन गरेको यो कार्यक्रममा पहिलो वर्ष ४० युवालाई रु ४० हजार दिएर रोजगारमूलक व्यवसायमा लगाइएको गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताइन् ।