परासी । पूर्वी नवलपरासी(सुस्ता पूर्व)मा सुन्तलाजातको फलफुलको क्षेत्र विस्तार भएको छ । सुन्तलाजातको फलफुुलको जोनका रुपमा घोषणा गरिएपछि उक्त जिल्लामा कुल २७० हेक्टर क्षेत्रफल विस्तार गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत सुुन्तलाजातको फलफुलको जोन घोषणा हुनुअघि कुल ३३१ हेक्टरमा थियो । अहिले क्षेत्र विस्तार भइ ६०० हेक्टर पुगेको प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासीका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले जिल्लाका किसान व्यवसायिक तरकारी खेतीसँगै सुुन्तलाजातको फलफुलको उत्पादन बढी आकर्षित बन्दै गएको बताए ।
उनका अनुसार, यो वर्षदेखि जिल्ला सुन्तलाजात फलफुलका बिरुवामा आत्मनिर्भर हुने लक्ष्य रहेको बताए । सुन्तलाजात फलफुल उत्पादनमा ठूूला मेसिनरीमा काम नभएपछि विस्तारै किसान यान्त्रीकरणतर्फ आकर्षित हुँदै गएको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई बीऊ बेर्नामा कुल उत्पादन लागतको ५० प्रतिश, मेसिनमा ८५ प्रतिशत र पोष्ट हार्भेसलगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।