पुष्प व्यवसाय पुरानै लयमा फर्कियो, ९१ प्रतिशत फुल स्वदेशकै खपत

२०७८ चैत्र १९ गते प्रकाशित

काठमाडौं । महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।

“अहिले महामारीको त्रास कम छ, मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन्, विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ”, फ्लोरीकल्चर एशोसिएशनले भनेको छ । महामारीको समयमा यस व्यवसयले दैनिक रु एक करोडसम्मको नोक्सान सामना गर्नुपरेको थियो ।

महामारीका समयमा अन्य केही व्यवसाय आंशिक सञ्चालनमा आए पनि यो क्षेत्र भने पूर्णरूपमा बन्द नै रहेको थियो । कोरोनाका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एशोसिएशनले जनाएको छ । अन्य पेशामा पलायन भएका व्यवसायीलाई पुनः यस पेशामा नै ल्याउनुपर्ने चुनौती भने संस्थालाई रहेको एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ ।

हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको एशोसिएशनका अध्यक्ष तामाङले जानकारी दिए।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।