काठमाडौं । सरकारले लागू गर्ने कार्यक्रम कति सफल छन्, त कति असफल । जति कार्यक्रम सफल भए, त्यसका पछाडि कुशल नेतृत्व र प्रभावकारी योजनाको महत्वपूर्ण हात हुन्छ ।
प्रभावकारी योजना र कुुशल नेतृत्व हुने कर्मचारीले मात्र सरकारका जुनसुकै कार्यक्रमलाई नमुना र सफल बनाउन सक्छ । त्यस्तैमध्ये कुशल नेतृत्व र प्रभावकारी योजना अघि बढाएर डडेल्धुरालाई आलु सुपरजोनमा नमुना बनाउन सफल व्यक्ति हुन, ‘खेम सर’ अर्थात खेमराज जोशी ।
आलु खेतीको उत्पादन र क्षेत्र विस्तार गर्न किसानलाई प्रोत्साहित गर्ने र कार्यक्रम कार्यान्वयनमा प्रदेश र स्थानीय तहसँग राम्रो तालमेल मिलाउन उनी सक्षम भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत डडेल्धुरालाई आलु सुपरजोन बनाइएपछि जोशीले आफैँ कार्ययोजना र रणनीति बनाए । र, सोही योजनाअनुसारको लक्ष्यलाई पुरा गर्न उनी अहोरात्र खटे । किसानका खेतबारीसम्मै पुगे ।
पराम्परागत जिविकोपार्जन गरिरहेका किसानलाई आलु खेती गर्न सुुझाए । त्यहाँका विपन्न किसानलाई गहुँबाली हटाएर आलु लगाउन भन्दै उनले मल र बीऊमा परियोजनामार्फत ५० प्रतिशत र स्थानीय तहमार्फत २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाइदिए । त्यतिमात्र हैन, सिँचाई गर्ने उचित व्यवस्था मिलाएपछि आलु उत्पादन बढिरहेको छ भने क्षेत्र विस्तार गर्न उनी सफल भएका छन् ।
अधिकांश बाँझो र टुक्रे जमिनमा खेती गर्ने किसानले यतिबेला आलू लगाइरहेका छन् । गहुँ र अन्य बालीको तुलनामा आलुबाट तेब्बर बढी आम्दानी गर्न थालेपछि किसानपनि उत्साहीत छन् ।
परियोजनाले नै गहुँबाली लगाइरहेका किसानलाई त्यसको सट्टा आलु लगाउन उत्प्रेरित गर्दै मल, बीऊ, उत्पादन र बजारको ग्यारेन्टी गरेपछि डडेल्धुराका किसान आलु खेतीतर्फ थप आकर्षित भइरहेका छन् ।
त्यसमा पनि, उनै खेमराज जोशीको महत्वपूर्ण देन छ । उनी पीएमएमपी परियोजना कार्यन्वयन इकाई प्रमुखका रुपमा डडेल्धुरामा आएपछि आलु सुपरजोनमै नमुना काम भएका छन् ।

सुुरुमा १२१ हेक्टर क्षेत्रफलमा मात्र आलु खेती हुने गरेकोमा आलु सुपरजोन घोषणा गरेपछि अहिले आलुको क्षेत्र विस्तार भइ ६०० हेक्टर पुुगेको छ । त्यस्तै, आलु उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ । आलु जोन कार्यक्रम रहँदासम्म १७ मेट्रिक टन प्रति हेक्टरमा मात्र आलु उत्पादन हुन्थ्यो । आलु सुपरजोनपछि आलु उत्पादन २३.८८ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।
हालसम्म बाँझो जमिनको सदुुपयोग भई २६ हेक्टर जमिनमा आलु खेती भइरहेको छ । डडेल्धुरालाई आर्थिक वर्ष २०७५/०७६ देखि आलु सुपरजोनका रुपमा घोषणा गरिएको थियो । त्यसअघि भने आलु जोनकै रुपमा थियो ।
‘फाँट र साथ दिनुसः आलुु र आम्दानी लिनुस’ भन्ने मूूल नारालाई आत्मसात गर्दै परियोजना इकाई प्रमुख जोशीले आलु सुपरजोनमै नमुना काम गरिरहेका छन् । उनी आफैंले बनाएको कार्ययोजना र रणनीतिअनुसार परियोजना लागू हुँदा डडेल्धुरामा आलु उत्पादनमा वृद्धि र आत्मनिर्भरउन्मुख छ ।

सिँचाईको व्यवस्थापन राम्रो
आलु खेतीका लागि पर्याप्त चिस्यान चाहिन्छ । त्यसका लागि सिँचाई अपरिहार्य छ । परियोजनाले पनि सिँचाईलाई नै जोड दिएर काम गर्यो । किसानको समुहलाई संगठित गरी केही जनश्रमदान र केही परियोजनाले रकम हालेर ठूला तथा स–साना पोखरी निर्माण र पाइप उपलव्ध गराएको छ । कुनै बेला पिउनेको समस्या हुने अमरगढी नगरपालिका–७ भटगाउँ, वडा नम्बर ३ डोटीघाट, घटाल र नौलाकोटमा सिँचाई पुगेपछि किसानमा छुट्टैखालको उत्साह छ ।
गहुँ खेतीमात्रै गरेर जीविकोपार्जन गर्न धौधौ हुने किसानको परिवारले आलु खेती लगाएपछि जीवनस्तरमा सुधार आएको छ । सिँचाईका लागि पोखरी बनेको र पाइप उपलव्ध भएपछि यहाँका अधिकांश किसानले गहुँ उखेलेर आलु नै लगाएको नौलाकोट आलु कृषक समुहका सचिव भोजराज पनेरु बताउँछन् ।

‘अन्य ठाउँमा पीएमएमपी परियोजनाले राम्रा काम गरेको देखेर हाम्रो गाउँमा पनि दिए हुन्थ्यो भन्ने लाग्यो । हामीले अनुरोध पनि गर्यौ’ उनले भने, ‘त्यसपछि परियोजनाले सिँचाईका लागि पोखरी र पाइप उपलव्ध गराइदियो । कृषि ज्ञान केन्द्रले बीऊ आलु दिएपछि हामीले गहुँ हैन आलु लगाउनुपर्छ भनेर लाग्यौं ।’
आलु बिक्रि वितरणका लागि कोल्ड स्टोरको व्यवस्था भएकाले आलुको मूल्य राम्रो पाउने आसामा पनेरुजस्तै किसान छन् । गहुँ खेती गरिरहँदा बसेर दिन बिताउने महिला किसानहरु भने सिँचाई पुगेसँगै अहिले आलु बारीमा व्यस्त हुन थालेका छन् । कुनैबेला पिउने पानीको समेत समस्या हुने भटगाउँमा यतिबेला सिँचाई पुगेपछि आलु खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । ‘पहिले पहिले त पिउने पानीको पनि निकै समस्या हुन्थ्यो ।

गहुँ, मकै पनि आकाशे पानीकै भरमा गर्नुपथ्यो । वर्षभरी खान पुुग्दैनथ्यो’, कालसैन कृषक समुहकी अध्यक्ष बसन्ती भण्डारीले भनिन्, ‘अहिले सिँचाईका लागि पोखरी बन्यो, पाइप पनि मिलेको छ । आलु खेती गर्न थालेपछि आयआर्जनमा वृद्धि भएको छ, हामी खुसी छौं ।’ सिँचाई पुुगेपछि आलु खेती गरी भटगाउँका ८० घरपरिवार लाभान्वित भएका छन् ।
शीत भण्डार र बीऊ व्यवस्थापन
परियोजनाले उन्नत बीऊको संरक्षण र शीत भण्डारगृहमा पनि काम गरेको छ । फलस्वरुप, किसानले उत्पादन गरेको आलुुको बजारीकरणमा त्यति समस्या छैन् । किसानले आफुुले बेच्न चाहेको बेला सजिलै बेच्न र बीऊका लागि भण्डारण गर्न सक्छन् । आलुको बजारीकरण र बीऊ आलुु राख्न उग्रतारा सीड भण्डार प्रालिले १४०० टन क्षमताको कोल्ड स्टोर निर्माण गरेको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ठूलो सहयोग छ ।

सुरुमा साना तथा मझौला कृषक आयस्तर आयोजनाले बनाएको ५०० टन क्षमताको कोल्ड स्टोरलाई पीएमएमपी परियोजना र कम्पनीले थप लगानी गरेपछि अहिले त्यसक्षेत्रका किसानको आलु सोही कोल्ड स्टोरमा राखिन्छ । उक्त कोल्ड स्टोरमा ६ महिना राख्दा प्रतिकेजी ५ रुपैयाँ शुल्क लाग्छ, भने किसान आफैँले भण्डारण गर्दा ४ रुपैयाँ अनुदान पाउँछन् ।
त्यतिमात्र होइन, आलुको पिवियस दाना उत्पादन गर्ने, उत्पादनका लागि स्क्रिनहाउस निर्माणमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । जसबाट उन्नत बीऊको प्रयोगले किसानको उत्पादन वृद्धि गर्न र आलुको थप क्षेत्र विस्तारमा योगदान पुगेको छ ।

प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय
परियोजना सफल हुनुका पछि अनुदान वितरण गर्दा प्रदेश र स्थानीय तहसँग राम्रो तालमेल हुनुु हो । सम्भाव्यता र आवश्यकता औँल्याई स्थानीय कृषकसँग छलफल र अन्र्तक्रिया गरिन्छ । त्यसपछि स्थानीय सरकारसँग कार्यक्रमका बारेमा अभिमुखीकरण तथा अन्र्तक्रिया हुन्छ ।
लागत इष्टिमेट तयारी तथा लागत साझेदारीमा स्थानीय सरकार र कृषकलाई सहमतिपत्रमा हस्ताक्षर गराइन्छ । परियोजनाले शुन्य लागत सहभागीतामा भए पनि स्थानीय सरकार र किसानलाई सहमति गराएर कार्यक्रम लागू गरेको छ । फलस्वरुप, स्थानीय सरकार र किसानलाई पनि परियोजना र त्यसको कार्यक्रमप्रति उत्तिकै अपनत्व महशुस भएको छ ।

स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, अगुवा किसान र सहजकर्तालाई समेत परिचालन गरेर आलुको क्षेत्र विस्तार सँगै आयोजनाको लक्ष्य प्राप्तीमा उपलव्धिमूलक काम भएको छ ।
जंगली जनावरको आतंक मुख्य चुनौती
डडेल्धुरा करिब ६० प्रतिशत भूूभाग बनक्षेत्र ढाकेको छ । आलु, फलफुललगायत किसानले उत्पादन गर्ने जुनसुकै बाली पनि जंगली जनावर खाइदिन्छ । दुुःखले उत्पादन गर्यो त्यही पनि जंगली जनावर जस्तै बँदेल, सुगुर, दुम्सीलगायतले सखाप पारिदिँदा किसानलाई ठूलो नोक्सान हुन पुग्छ ।
जंगली जनावरबाट खेतीबाली जोगाउनै किसानलाई सकस परिरहेको छ । ‘आम्दानी राम्रो हुने देखेर नगदेबाली आलुु लगायौं । राम्रो भएको छ ।’ नौलाकोट आलुु कृषक समुहका अध्यक्ष बासुदेव पनेरु भन्छन, ‘तर, सुगुर र बँदेलले जमिनमुनीबाट आएर खाइदिन्छ । रातीमा कुकुुर भुक्यो भने उठेर हेर्नुपर्छ ।’ जंगली जनावरको व्यवस्थापनका लागि परियोजनाले केही मात्रामा तारबार र वाल निर्माणका लागि सहयोग गरे पनि त्यो पर्याप्त छैन् ।

परियोजना इकाई डडेल्धुराका प्रमुख जोशी भन्छन, ‘यहाँको मुख्य समस्या जंगली जनावरबाट कसरी बाली जोगाउने भन्ने नै हो’ उनले भने, ‘केही ठाउँमा हामीले तारबार लगाउन र वाल निर्माणका लागि सहयोग गरिरहेका छौं । तर, संरचना निर्माणमा ठूलो रकम हुँदैन ।’
समग्रमा हेर्दा, आलु सुपरजोन आएपछि डडेल्धुराका किसानको जीवनस्तर र आयस्तरमा सुधार भएको छ । त्यतिमात्र होइन, बाँझो जमिनको सदुुपयोग, यान्त्रीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत चक्लाबन्दीमा आलु खेती गर्नतर्फ पनि किसान प्रोत्साहित भइरहेका छन् ।