पूर्वतयारी नहुँदा देशभर फैलिँदै ‘बर्डफ्लू’, नियन्त्रणमा चुक्दै सरकार

२०७८ चैत्र २२ गते प्रकाशित

काठमाडौं । बर्डफ्लू नियन्त्रणका लागि सरकारले पूर्वतयारी नगर्दा अहिले मुलुकभर बर्डफ्लू फैँलिदै गएको छ । हालसम्म विभिन्न १३ जिल्लामा बर्डफ्लूको संक्रमणले घरपालुवा पंक्षी धमाधम मर्न थालेका छन् । यसबाट किसानलाई सबैभन्दा ठूलो क्षति पुगेको छ ।

सरकारी अधिकारीहरुले नै बर्डफ्लू नियन्त्रण बाहिर गएको बताइरहँदा पनि सरकारले नियन्त्रण गर्न ठोस कदम चाल्न सकेको छैन् । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले बर्डफ्लू नियन्त्रणबाहिर गएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आयोजना गरेको कार्यक्रममा बताएका थिए ।

उनले विभागको सल्लाहअनुसार व्यवसायीलाई पोल्ट्री लकडाउनमा जानुपर्ने अवस्था आएको बताएका थिए । तर, उनले बर्डफ्लू नियन्त्रणका लागि विभागले के गर्यो, त्यो कुरा खुलाएनन् । विभागले पूर्व तयारीमा ढिलाई गरेको पोल्ट्री व्यवसायीको गुनासो छ ।

विभागले बर्डफ्लू नियन्त्रणका लागि चाल्नुपर्ने पूर्वतयारीमा ढिलाई गर्दा त्यसले ठूलो क्षति हुने जोखिम रहेको नेपाल पोल्ट्री महासघका महासचिव दिनेशराज मिश्र बताउँछन् । उनले क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने बताए ।

अब पनि सरकारले बर्डफ्लू नियन्त्रणका लागि ‘एक्सन’ नलिने हो भने यसले भयावह रुप लिने र मानिसमा समेत सर्ने खतरा उत्तिकै रहेको पशु विज्ञ बताउँछन् । दाना ढुवानी देखि दाना उद्योग, ह्याचरी उद्योग, अण्डा, कुखुराको फार्मलगायतका क्षेत्रमा बर्डफ्लू फैलिन नदिन बेलैमा सावधानी अपनाउनुपर्ने हुन्छ ।

त्यतिमात्र होइन, आम उपभोक्ताले पनि ब्रोइलर कुखुराको मासु राम्रोसँग पकाएर खानुपर्ने पशु चिकित्सकको सुझाव छ ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …