आठ महिनामा १४ अर्ब २९ करोडको मकै आयात

२०७८ चैत्र २३ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा भारतलगायतका मुलुकबाट १४ अर्ब २९ करोड रुपैयाँ बराबरको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार, सो अवधिमा बीऊ र दानाजन्य प्रयोजनका लागि मकै आयात भएको हो ।

सो अवधिमा झन्डै एक अर्बको बीऊ मकै आयात भएको छ भने बाँकी अन्य मकै आयात भएको हो । नेपालमा दाना उद्योगका लागि सबैभन्दा बढी मकै विदेशबाट नै आयात हुन्छ । कृषिप्रधान मुलुक नेपालबाट प्रत्येक वर्ष मकै आयातमा अर्बौैं रूपैयाँ बिदेसिने गरेको छ । यो क्रम बर्सेनि बढिरहेको सरकारी तथ्यांकले देखाउँछ ।

नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर हुँदै गर्दा कुखुरा दाना बनाउन प्रयोग हुने मकैको खपत बढेकाले आयात गर्नुपरेको पोल्ट्री व्यवसायीको भनाई छ ।