कम तौलको मल दिएर बद्नाम आइपीएलको नयाँ ‘प्रपन्च’, ‘जीटुजी’ फकाउन पाँचतारेमा गोष्ठी

२०७८ चैत्र २४ गते प्रकाशित

काठमाडौं । नौ वर्षअघि समयमै रासायनिक मल आपूर्ति गर्न नसकेर र कम तौलको मल दिएर बद्नामी कमाएको इन्डियन पोटास लिमिटेड(आईपीएल) ले अहिले भने ‘जीटुजी’को ठेक्का हत्याउने ‘प्रपन्च’ रचेको छ ।

आगामी पाँच वर्षसम्म नेपाल–भारत सरकारबीच(जीटुजी) विधिबाट मल खरिद गर्ने समझदारी भएपछि आइपीए जीटुजी हत्याउने खेलमा लागेको हो । कतिसम्म भने, उक्त कम्पनीले त्यतिबेला ५० किलोको बोरामा साढे दुई किलो कम तौल मल दिएर उल्टै बद्नामी कमाएको थियो ।

साढे दुई किलो कम तौलको मल पाइएपछि तत्कालीन संसदको सार्वजनिक लेखा समितिले सो कम्पनीलाई कालोसूचीमा राख्न सरकारलाई निर्देशन समेत दिएको थियो । तर, त्यतिबेला विभिन्न बाहनामा आईपीएल उम्कियो ।

आईपीएलले गडबडी गरेकै कारण अहिले पनि कृषि सामग्री कम्पनीले २४ करोड बराबरको मुुद्धा खेपिरहेको छ । भारतको पूर्ण स्वामित्वको आइपिएलले अहिले आएर भने जीटुजी सम्झौताको मलमा आँखा गाडेको छ । त्यसका लागि उसले विभिन्न हतकन्डा अपनाएको छ ।

खासगरी, साल्ट्र ट्रेडिङ र कृषि मन्त्रालयका कर्मचारीलाई रिँझाउन र प्रभावमा पार्न बुधबारदेखि काठमाडौंको पाँचतारे होटल र्याडिसन होटलमा बृहत गोष्ठी समेत सुुरु गरेको छ । जसमा, साल्ट आयोजकका रुपमा छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोग लिएर पाँचतारे तीनदिने लामो कर्मकाण्डी गोष्ठी गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिलाई रिँझाएर जीटुजी आफ्नो पोल्टामा पार्ने ध्याउन्नमा आईपीएल जुटेको देखिन्छ । तीनदिने गोष्ठीमा सहभागी एक कर्मचारीका अनुसार, आईपीएलले जीटुजी फकाउन साल्ट र कृषि मन्त्रालयका कर्मचारीमा प्रभावमा पार्न खोजेको छ ।

‘यसअघि कम तौलको मल दिएर बद्नामी कमाएको र संसदीय समितिले समेत कालोसूचीमा राख्न निर्देशन दिएको आईपीएलले जीटुजी सम्झौता कसरी आफ्नो पोल्टामा पार्न यो सबै नाटक गरेको हो’ ती कर्मचारीले भने, ‘साल्टले अहिलेसम्म मल नल्याउनुको कारण पनि आईपीएल नै हो ।’

यसवर्ष साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउने ५० हजार टन युरिया र २५ हजार टन डीएपी आपूर्तिकर्ता कम्पनी आईपीएलले समयमै नल्याइदिँदा देशभर मलको हाहाकार हुन पुग्यो । सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च पदस्थ कर्मचारी, प्रदेश सरकारका अधिकारी, कृषि बैज्ञानिक, सरकोकारवाला, आइपीएलका प्रतिनिधी र भारतका कृषि बैज्ञानिक समेतको सहभागीता छ ।