काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको दूग्ध विकास संस्थान(डीडीसी) ले धुलो दूध आयातका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । डीडीसीले धुलो दूध तथा सेतो खुल्ला मख्खन खरिदका लागि मौजुदा सूचीमा सुचीकृत हुन आउन आयातकर्तालाई आग्रह गरेको छ ।
दूध तथा दूग्ध पदार्थ उत्पादनका लागि भन्दै संस्थानले धुलो दूध आयात गर्न सार्वजनिक सुचना जारी गर्दै आपुर्तिकर्तालाई आवेदन दिन आग्रह गरेको हो । यसअघि पूर्व कृषि मन्त्री चक्रपाणी खनालले स्वदेशी किसानलाई बचाउन धुलो दुध आयात रोकेका थिए । तर, अहिले भने कृषिमन्त्री महिन्द्रराय यादव डेरी उद्योगीको दबाबमा परेर धुलो दुध आयात खुलाउन डीडीसीलाई निर्देशन दिएका छन् । स्वदेशमा किसानको दुध स्वदेशमै खपत हुन नसकिरहेको अवस्थामा किसानलाई नै मर्का पर्ने गरी बाहिरबाट धुलो दुध आयात हुन लागेको छ ।
हालै नयाँ महाप्रवन्धकमा नियुक्त भएको सञ्जिव झाले डीडीसीलाई चाहिने दूध र दूग्ध उत्पादनका लागि धुलो दूध र सेतो मख्खन आयात गर्नुपर्ने अवस्था आएको बताए । मन्त्रीको निर्देशनमा झाले नै सार्वजनिक सूचना निकालेर धुलो दूध खरिदका लागि आपूर्तिकर्तालाई आवेदन दिन लगाइएको हो ।
किन भयो दूधको अभाव ?
यसअघि कोरोना महामारीका बेला दूधको माग र खपत खुम्चियो । अर्थात, निषेधाज्ञाका कारण बजार, होटल, विद्यालय बन्द हुँदा दूधको खपत भएन् । डेरी उद्योगमा दूध तथा दूग्धजन्य पदार्थको मौज्दात बढ्न थाल्यो तर, बजारमा खपतको अवस्था घट्यो । बजारमा खपत नभएको भन्दै डेरी उद्योगीले किसानबाट दुध नै किनेनन् ।
भएको दुध र दुग्ध पदार्थ स्टक(मौज्दात) गरे । अहिले कोरोना महामारी विस्तारै मथ्थर हुँदै जान थालेपछि दुधको खपत बढ्न थाल्यो । तर, त्यसआधारमा दुध उत्पादन बढ्न सकेन् । किनकी, कोरोना महामारीमा किसानले गाई, भैँसीलाई पर्याप्त दाना, चोकर खरिद गरि खुवाउन पाएनन् । फलस्वरुप, दुधको उत्पादन बढ्न नसक्दा पनि बजारमा दूधको अभाव हुन पुगेको छ ।