काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिक्षेत्रको रुपान्तरण बिना आर्थिक विकास गर्न नसकिने बताएका छन् । पछिल्लो अर्थतन्त्रका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले कृषिक्षेत्रलाई आत्मनिर्भर उन्मुख बनाउनुपर्ने बताए ।
‘हामीले रुपान्तरण गर्नुपर्ने दुईवटा क्षेत्र छन् । एउटा कृषिक्षेत्रलाई रुपान्तरण गर्नुछ, अर्को हाम्रो संयन्त्र मन्त्रालय, संरचना र कार्यान्वयन गर्ने निकायलाई रुपान्तरण गर्नु जरुरी छ ।’ उनले भने, ‘यी दुईवटा कुरालाई रुपान्तरण नगरी हामीले आर्थिक विकास गर्न सक्दैनौं ।’
उनले कृषिक्षेत्र नै आत्मनिर्भर नबनाई अर्को विकल्प नभएको बताए । ‘कृषिलाई आत्मनिर्भर नबनाई अको विकल्प छैन् ।’ उनले बताए । अहिले जे जति कुरा आयात भइरहेको भन्दै उनले भने, ‘एक ठाउँमा आलु कुहिरहेको छ, अर्को ठाउँमा बाहिरबाट आलु ल्याएर खाइरहेका छौं । साग हाम्रो मै २०÷३० दिनमा उत्पादन गरेर खान सकिन्छ । बाहिरबाट ल्याएर खाने अवस्थाको अन्त्य गर्नुपर्छ । कोभिडले पनि हामीलाई त्यस्ता कुरामा आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षा दिएको छ ।’
धान उत्पादन वृद्धि गर्न उन्नत जात र प्रविधि प्रयोग गर्न आफुले बारम्बार कृषि मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए ।