कांग्रेसको घोषणापत्रः कृषि मुख्य प्राथमिकतामा, किसान क्रेडिट कार्डदेखि कृषि एम्बुलेन्ससम्म

२०७९ बैशाख ११ गते प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिवद्धता तथा घोषणापत्र सार्वजनिक गरेको छ । खासगरी, कृषिक्षेत्र र किसानको हित र अधिकार स्थापित गर्ने महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समेटिएको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेको कांग्रेसको घोषणापत्रमा किसानको सूचीकरण र वर्गीकरण गर्ने, कृषि सामग्री र कृषि सेवामा सुनिश्चितता पहुँच र स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार दिने उल्लेख छ । त्यस्तैगरी, साना किसानालाई ५० हजार बराबरको किसान क्रेडिट कार्ड उपलव्ध गराउने पनि पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, साना किसानलाई दुुई प्रतिशतमा तथा मझौला र ठूला किसानलाई चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने कांग्रेसले चुनावी घोषणा गरेको छ । कृषि बीमामा साना किसानलाई ९० प्रतिशत तथा मझौला र ठूला किसानलाई ७५ प्रतिशतसम्म अनुदान दिने पनि घोषणा गरिएको छ ।

उन्नत बीऊ बिजन तथा उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदान दिने कांग्रेसको घोषणापत्रमा समावेश गरिएको छ । आधारभूत खाद्यान्नको न्युनतम समर्थन मूल्य, बजारीकरणका लागि कृषि एम्बुलेन्स र साना किसानलाई सर्बाधिक बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान सहायता दिने कांग्रेसले घोषणा गरेको छ । खाद्य तथा पोषण सुरक्षाअन्र्तगत कृषि उत्पादन वृद्धि र विविधिकरणमा सहयोग, बाल–बालिका, प्रौढ, महिला तथा जेष्ठ नागरिकका लागि विशिष्टिकृत पोषण शिक्षा, घर–घरमा पोषण बगैंचालाई प्रोत्साहन, अति विपन्न घरपरिवार परिचयपत्रका आधारमा रासन दिने व्यवस्था, खाद्यान्न गोदाम, प्रशोधन केन्द्र र सुपथ खाद्यान्न पसलहरुको स्थापना र मातृ तथा बाल पोषण सुरक्षाका लागि बहुपक्षीय एकीकृत कार्यक्रम गर्ने कांग्रेसको चुनावी घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै,कृषि उद्यमशिलताअन्र्तगत विकास कृषि उद्यम विकास सेवा केन्द्र स्थापना, नाफामुलक कृषि उद्यम विकास योजना निर्माणमा सहयोग, उत्पादन, प्रशोधन, लजिष्टिक व्यवस्थापन, बजारीकरण तथा प्राविधिक सेवा आदिमा प्रोत्साहन, कृषि उद्यमशिलता विकासमा नव प्रवर्तकहरुलाई प्रोत्साहन, प्राविधिक सेवा तथा बजारीकरणमा विद्युतीय सूचना प्रवधि प्रयोगमा प्रोत्साहन, कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्ने गरी कांग्रेसले चुनावी घोषणा गरेको छ ।

यता, आयात प्रतिस्थापन गरी बढी आयात हुने कृषिबाली वस्तु उत्पादन क्षेत्रको निर्धारण, बजारमुखी व्यावसायिक योजना विकासमा सहयोग, व्यावसायिक याजनाबमोजिम कृषिबाली उत्पादन तथा पशुुपन्छी पालन, प्राविधिक सेवा, उद्याग तथा बजारीकरण सहितको एकिकृत योजना, गुणस्तरीय बीउ–विजन, पशुपन्छी नश्ल तथा माछा भुराको उपलब्धताको सुनिश्चितता, रासायनिक मल गोदाम निर्माण र न्यायिक वितरणको सुनिश्चितता, प्राथमिकता प्राप्ता क्षेत्रमा सतही, सौर्य, लिफ्ट, भूमिगत सिँचाई तथा नविनतम प्रविधिमा आधारित साना सिँचाइ पूर्वाधार विकासको कार्यक्रम, विद्यमान ठूला सिँचाई आयोजना तथा समुदाय–व्यवस्थित सिँचाइ आयोजनका संरचनाको मर्मत सम्भार, पुनः निर्माण, जल उपभोक्ता समितिको क्षमता विकास तथा सुदृढीकरण, महिलामैत्री साना तथा मझौला कृषि यन्त्र उपकरणहरुको पहिचान र वितरण गर्ने कांग्रेसको चुनावी घोषणापत्रमा समेटिएको छ ।

त्यस्तै, ठूला यन्त्र उपकरणको कस्टम हाइरिङ्ग सेन्टर तथा मर्मत सम्भार केन्द्रहरुको स्थापना, कृषि यन्त्र तथा उपकरणको उत्पादन तथा एसेम्बलीङ्ग गर्ने कृषि उद्यमीहरुलाई प्रोत्साहन,कृषि योग्य जमीनमा विद्युत् प्रसारण लाइनको व्यवस्था; कृषि उपज तथा पशुपन्छी उत्पादन र मत्स्यपालन कार्यका लागि निःशुल्क विद्युतको सुनिश्चतता, कृषि उपजहरुको प्राथमिक प्रशोधनको लागि आवश्यक पर्ने विद्युत महसुलमा कम्तिमा ५० प्रतिशत अनुदान, सौर्य सिँचाई तथा सौर्य कृषि प्रवद्र्धन गर्न सौर्य पूर्वाधार जडान गर्न लाग्ने रकममा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

त्यस्तै, उत्पादन योजना र बजार योजना सहितको साना कृषि बजार पुर्वाधारको विकास, कृषि उत्पादन योजना सहितको उत्पादन तथा प्राथमिक प्रशोधनको कार्यक्रम सञ्चाालन गर्ने, प्रमुख कृषि उपजको न्यूनतम मूल्य निर्धारण तथा न्यूनतम समर्थन मूल्यमा खरिद गरी बिक्रिवितरणको व्यवस्था, उत्पादनपछिको क्षति कम गर्न गोदाम घर निर्माण, ग्रेडिङ्ग तथा प्याकेजिङ्गका संरचनाको स्थापना, दुई वा दुईभन्दा बढी स्थानीय तहहरुले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने, सबल र सुनिश्चिभत आपूर्ति श्रृङ्खला विकासमा नवप्रवर्तक र युवालाई प्रोत्साहन गर्ने घोषणापत्रमा लेखिएको छ ।

त्यस्तै वातावरण तथा जैविक विविधता संरक्षणमा पनि कांग्रेसले विभिन्न बुँदागत रुपमा व्याख्या गर्दै घोषणा गरेको छ । दिगो र जलवाय मैत्री कृषिका विकासअन्र्तगत कृषि क्षेत्रमा जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न स्थानीयस्तरमै योजना तर्जुमा, बाढी, पहिरो, डुबान, खडेरीआदि प्रकोपबाट प्रभावित स्थानीय किसानहरुलाई लक्षित गरी राहत तथा जिविकोपार्जन सहयोग कार्यक्रम, जलवायु परिवर्तन अनुकलन अभियानमार्फत हरित तथा अनुकूलित कृषि अर्थतन्त्र विकास कार्यक्रम, रैथाने तथा स्थानीय बाली वस्तुको पहिचान तथा अभिलेखीकरण, स्थानीयस्तरमै संरक्षण तथा जीन बैंकको संरक्षण, र मूल्य अभिवृद्धि तथा उपयोगका प्रवद्र्धनात्मक कार्यक्रम पनि कांग्रेसको घोषणापत्रमा समेटिएका छन् ।

कृषिमा समावेशीकरणअन्र्तगत कृषि क्षेत्रबाट प्रवाह हुने आर्थिक सहायता वितरण गर्दा स्थानीय तहमा बसोबास गर्ने विभिन्न जात–जाती, धर्म र सम्प्रदायमा समानुपातिक वितरणको व्यवस्था, महिलामैत्री कृषि प्रविधिको विकास तथा प्रसार, महिला किसानका लागि थप आर्थिक तथा प्राविधिक प्रोत्साहन, घरमूली हुने महिला किसानलाई थप २० प्रतिशत अनुदानको व्यवस्था गर्ने घोषणा गरिएको छ ।