कृषिमन्त्रीको प्रमुख आतिथ्यतामा २६ औं राष्ट्रिय चिया दिवश मनाइने

२०७९ बैशाख १४ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बैशाख १५ गते अर्थात भोली २६ औं राष्ट्रिय चिया दिवश मनाउने भएको छ । कृषिमन्त्री महिन्द्रराय यादवको प्रमुख आतिथ्यतामा बोर्डले एल्लो प्यागोडा होटलमा दिवशको मूल समारोह कार्यक्रमको आयोजना गर्दैछ ।

नेपाली चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता र चियालाई माया गर्ने सबै नेपालीलाई राष्ट्रिय चिया दिवशको अवसरमा शुभकामना दिँदै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराइले सरकारको सानो लगानीको क्षेत्र चिया निर्यातबाट राज्यले बार्षिक ४ अर्ब रुपैयाँको आर्थिक योगदान पुर्याएको बताए ।

राष्ट्रिय चिया दिवशको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेपाली चिया अन्र्तराष्ट्रिय रुपमा गुणस्तरीय रहेको र त्यसको माग बढिरहेकाले अहिलेकै उत्पादन बढाएमा २ बर्षभित्र १० अर्ब चिया निर्यात गर्ने सम्भावना रहेको बताए । नेपाली चिया क्षेत्र आर्थिक समृद्धिको आधारस्तम्भ रहेको बताउँदै उनले चियाको गुणस्तर उत्पादन वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानको लागि मूख्य रणनीतिका साथ बोर्डले काम गर्दै आएको बताए ।

पत्रकार सम्मेलनका अवसरमा बोर्डका निर्देशक दीपक खनालले राष्ट्रिय चिया दिवशका दिन कृषिमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यता रहने र चियाको समग्र नीतिगत रुपमा छलफल हुने बताए ।

उनले दिवशको मूल समारोहका अवसरमा दुईओटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुने र ‘टी‘ टेस्ट गर्ने कार्यक्रम पनि रहने बताए । त्यस्तै, चिया उत्पादन र प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेको खनालले जानकारी दिए ।