अर्थमन्त्रीलाई नै टेर्दैनन् कृषिका कर्मचारी

२०७९ बैशाख १६ गते प्रकाशित

काठमाडौं । बुधबार अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट र समयसामयिक विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद्(नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय र गुणस्तर नापतौल विभागका प्रतिनिधीलाई बोलाएर छलफल गरे।

उक्त छलफलमा अरु बेला भन्दा अर्थमन्त्री केही कडा रुपले प्रस्तुत भए । त्यो पनि कृषिका कर्मचारीप्रति उनी अलि रुष्ट देखिन्थे । अर्थमन्त्री शर्माले दुई महिनाअघि धानको उन्नत जातको बीऊ ल्याएर किसानलाई बाड्ने योजना ल्याउन निर्देशन दिए पनि कृषिका कर्मचारीले नमानेको उनको तर्क थियो ।

छलफलमा उनले भने, ‘दुई महिनादेखि मैले धानको उन्नत बीऊ किसानलाई बाड्ने योजना ल्याउनू भनिरहेको छु तर, तपाईहरुले चासो नै दिनुभएको छैन ।’ अर्थमन्त्री शर्मा यसो भनिरहँदा कृषिका कर्मचारी मौन देखिन्थे ।
आगामी जेठ असारमा धान रोप्ने किसानलाई उन्नत जातको धानको बीऊ उपलव्ध गराउन उनले निर्देशन दिए पनि कृषि मन्त्रालयले त्यसको पालना नगरेको देखिन्छ ।

चामलको आयात बढ्दै गएकालाई त्यसलाई घटाउँदै लैजान किसानलाई उन्नत बीऊ दिएर धान उत्पादन तीनगुणा बढाउन सकिने छलफलकै क्रममा अर्थमन्त्रीले सुनाए । उन्नत जातको बीऊ किन्न किसानलाई महंगो हुने देखिए अनुदानबापत चाहिने रक अर्थ मन्त्रालयले तत्काल निकासा गर्ने अर्थमन्त्रीको निर्देशन थियो । तर, कृषि मन्त्रालय र त्यहाँका कर्मचारीले अहिलेसम्म उन्नत बीऊ खरिद गर्ने प्रक्रिया नै अघि बढाएका छैनन् ।

छेउमै रहेका कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले पनि अर्थमन्त्रीको प्रश्नको जवाफ चित्तबुद्दो दिएनन् । उनले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । तर, अर्थमन्त्रीले दुई महिनाअघि दिएको निर्देशन अहिलेसम्म किन अघि बढ्न सकेन् भन्ने बारेमा उनले मुख खोलेनन् ।