काठमाडौं । यतिबेला देशभर सातौं राष्ट्रिय कृषि गणना भइरहेको छ । गत बैशाख ६ गतेदेखि सुरु भएको कृषि गणना ७५३ वटै स्थानिय तहबाट बैज्ञानिक विधि प्रयोग गरेर छुट्टाछुट्टै प्रतिनिधित्व हुने कृषि गणना भइरहेको छ ।
करिव ३ लाख ५० हजार कृषक परिवार कृषक परिवारहरु कृषि गणनाका लागि छानिएका छन् भने करिव ६ हजार गणक, १५ सय सुपरिवेक्षक तथा करिव ७७ कृषिगणना अधिकृतहरु गरि करिव ७५०० (सात हजार पाँच सय) कर्मचारी प्रत्यक्ष रुपमा फिल्डमा परिचालित छन् ।
तथ्यांक संकलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिनेछ भने विजुलीबत्ति र इन्टरनेटको सहज पहुच र सुविधा भएका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा ट्यावलेट मार्फत क्यापी (CAPI) विधिबाट पनि तथ्यांक संकलन गरिदैछ ।
राष्ट्रिय कृषिगणना २०७८ मा गणनाको एकाइ “कृषिचलन” लाई लिइएको छ । सामान्यता कृषक परिवार र कृषि चलन पर्यायबाची जस्तै देखिएता पनि तलका मध्ये कम्तिमा कुनै एक अवस्था पुष्टि भएमा मात्र त्यस कृषक परिवारलाई कृषिचलन मानिन्छ र कृषि गणनामा समावेश गरिदैछ ।
-हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको भएमा, वा
-जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको भएमा, वा
-कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा, वा
-माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको भएमा ।
यस भन्दा पहिलेका छ वटा कृषिगणनाहरुमा जस्तै यो सातौं पटकको गणना पनि देशभरका कृषक परिवारहरुको प्रतिनिधित्व हुने गरेर छानिएका कृषक परिवारहरुसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर सम्पन्न गरिदैछ ।