काठमाडौं । पछिल्लो नौ महिनाको अवधिमा खाद्य ऐन उल्लंघन गर्दै गुणस्तरहीन उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्धा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको न्यून गुणस्तर तथा दूषित उत्पादन गरेको कसुरमा विभिन्न ६४ वटा उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा दायर गरको हो ।
विभागले तेस्रो चौमासिक तथा नौं महिनाको प्रगति सार्वजनिक गर्दै तोकिएको मापदण्ड विपरीत दूध तथा दूग्धजन्य पदार्थका १३ वटा, खाद्यान्न तथा दलहन पदार्थका १३ वटा, प्रशोधित पिउने पानीका ७ वटा, विभिन्न किसिमका ससमा ५ वटा, चियाको ४ वटा, दानाको ९ वटा,मसलाजन्य पदार्थको ५ वटा,खाद्य तेलको २ वटा, मिठाइ र महको १/१ र अन्य पदार्थको २ वटा मुद्धा दायर गरेको हो । ६४ मुद्धाहरुमध्ये २६ वटा दूषितका २० वटा मुद्धाहरु लेबलसम्वन्धिका,१४ वटा मुद्धाहरु न्यून गुणस्तरका, ४ वटा मुद्धाहरु खाद्य ऐन विपरीतका रहेको विभागले जनाएको छ ।
सो अवधिमा भारतबाट आयात हुने तरकारी तथा फलफुलजन्य वस्तु पनि बिषादीयुक्त रहेको पाइएको छ । नेपालमा आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी अवेशेष भेटिएको हो। कुल ४० हजार ७८५ वटा तरकारी र फलफूलमा गरिएको विषादी परिक्षणमा ३२ वटामा विषादी अवशेष प्रतिकुल पाइएको छ ।
विषादी अवशेष भेटिएकामध्ये केही रेडजोन अर्थात् प्रयोग गर्नै नहुने प्रकारका थिए, भने बाँकी एल्लो अर्थात् केही दिन निर्मलीकरण गरेर प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।