काठमाडौं । यतिबेला देशभर सातौ राष्ट्रिय कृषि गणना २०७८ भइरहेको छ । गत बैशाख ६ गतेदेखि सुरु भएको कृषिगणना ७७ वटै जिल्लामा पुगेर किसानको विवरण लिने काम भइरहेको छ । कृषि गणना कार्य आगामी जेठ ९ गतेसम्म हुनेछ ।
प्रत्येक किसान र किसानको परिवारमा पुगेर कृषि गणक र सर्भेक्षकले विवरण संकलन गर्नेछन् । खासगरी, राष्ट्रिय कृषिगणना अन्तर्गत कृषक परिवार प्रश्नावली मार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताहरुको विवरण र सिँचाई, कित्ता अनुसारका भू‒उपयोग, कित्ता अनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउविजन विषादि तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरी पालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, , खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक कृयाकलाप सम्बन्धी विवरणहरु संकलन गरिने छन् ।
प्रथमतः राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पारिवारिक विवरण संकलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको संख्या संकलन गरिएको थियो । त्यही लगतको आधारमा ७७ जिल्लाको ७५३ गाँउपालिका र नगरपालिकाहरुमा वैज्ञानिक छनौट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारहरुको सूची अध्यावधिक गरी निश्चित मात्रमा कृषक परिवार छानि छानिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषिचलन सम्वन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा संचालन भएका कृषिकार्यको विवरण संकलन गरिनेछ ।
राष्ट्रिय कृषिगणना २०७८ मा गणनाको एकाइ “कृषिचलन” लाई लिइएको छ । सामान्यता कृषक परिवार र कृषि चलन पर्यायबाची जस्तै देखिएता पनि तलका मध्ये कम्तिमा कुनै एक अवस्था पुष्टि भएमा मात्र त्यस कृषक परिवारलाई कृषिचलन मानिन्छ र कृषि गणनामा समावेश गरिदैछ ।
(हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको भएमा, वा
(जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको भएमा, वा (कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा, वा (माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको भएमा ।
यस भन्दा पहिलेका छ वटा कृषिगणनाहरुमा जस्तै यो सातौं पटकको गणना पनि देशभरका कृषक परिवारहरुको प्रतिनिधित्व हुने गरेर छानिएका कृषक परिवारहरुसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर सम्पन्न गरिदैछ ।
करिव ३ लाख ५० हजार कृषक परिवार कृषक परिवारहरु कृषि गणनाका लागि छानिएका छन् भने करिव ६ हजार गणक, १५ सय सुपरिवेक्षक तथा करिव ७७ कृषिगणना अधिकृतहरु गरि करिव ७५०० ९सात हजार पाँच सय० कर्मचारी प्रत्यक्ष रुपमा फिल्डमा परिचालित छन् ।
तथ्यांक संकलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिनेछ भने विजुलीबत्ति र इन्टरनेटको सहज पहुच र सुविधा भएका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा ट्यावलेट मार्फत क्यापी (CAPI) विधिबाट पनि तथ्यांक संकलन गरिदैछ ।