आगामी बजेट कृषिक्षेत्र केन्द्रित भएर ल्याउने अर्थमन्त्रीको जोड

२०७९ जेष्ठ ४ गते प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषिक्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ल्याउन लागिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खासगरी कृषिक्षेत्रलाई दिगो र आत्मनिर्भरमूखी अर्थतन्त्रमा आधारीत बजेट ल्याउने बताएका हुन् ।

उनले भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार गर्ने, सहकारीमार्फत चक्लाबन्दी खेती विस्तार गर्नेलगायतका योजना सुनाएका छन् । आगामी बजेटमा किसानलाई सिँचाइ प्रयोजनमा विद्युत महसुल छुट दिने सरकारको तयारी छ ।

यसबाहेक आगामी बजेटमा वित्तीय साधनमा किसानको पहुँच बढाउने, बीउ, कृषिसम्बन्धी सीपमूलक तालिम र प्राविधिक सहयोगमा समेत बजेट केन्द्रित हुने अर्थमन्त्री शर्माले बताएका छन् । कृषि बजारको पहुँच विस्तारदेखि नश्ल सुधार र पशु स्वास्थ्य सेवाको विस्तारमा समेत बजेट केन्द्रित हुने भएको छ । त्यस्तै, कृषि र उद्योगलाई बजेटले जोड दिनेछ ।

अर्थमन्त्री शर्माका अनुसार यी क्षेत्रबाट आधारभूत वस्तुका उत्पादन बढाइने छ । जसले स्वदेशमै उत्पादन सम्भव भएका वस्तुको उत्पादन गर्न स्वदेशी उद्योगहरुलाई सहज वातावरण बन्ने छ ।