काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण डडेल्धुराका प्रमुख समेत रहेका कार्यरत वरिष्ठ कृषि अधिकृत खेमराज जोशीको बिदाई तथा अभिनन्दनमा किसानको अनौठो दृश्य देखियो । सामान्य कृषि कर्मचारीलाई त्यहाँका किसानहरुले चुनाव जितेका जनप्रतिनिधीको बिजय जुलुसजसरी बाजागाजासहित बजार परिक्रम गराए । जोशीले त्यहाँका किसानको माया, सहयोग र सद्भाव पाएकै कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रुपमा डडेल्धुरा आलु सुपरजोनमै नमुना बनेको छ ।
उनले त्यहाँका किसानको समस्या समाधान गर्दै जीवनस्तर उकास्ने काम गरेका छन् । जसका कारण त्यहाँका किसानले उनलाई सम्झिन्छन् । ३ वर्षका लागि अध्ययन गर्न अस्ट्रेलिया जान लागेका जोशीलाई आइतबार त्यहाँका किसानहरूले विशेष सम्मानका साथ बिदाइ तथा अभिनन्दन गरेका छन् ।

झन्डै ४ वर्ष पीएमएमपी परियोजनाको डडेल्धुरामा रहँदा उनले किसानका स-साना आवश्यकता र समस्या हल गरिदिने र परियोजना कार्यान्वयनमा पनि राम्रो प्रगति हासिल गर्न सफल भएका छन् ।
त्यहाँ कार्यरत रहँदा आलु खेतीको उत्पादन र क्षेत्र विस्तार गर्न किसानलाई प्रोत्साहित गर्ने र कार्यक्रम कार्यान्वयनमा प्रदेश र स्थानीय तहसँग राम्रो तालमेल मिलाउन उनी सक्षम भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत डडेल्धुरालाई आलु सुपरजोन बनाइएपछि जोशीले आफैँ कार्ययोजना र रणनीति बनाए । र, सोही योजनाअनुसारको लक्ष्यलाई पुरा गर्न उनी अहोरात्र खटे । किसानका खेतबारीसम्मै पुगे ।
पराम्परागत जिविकोपार्जन गरिरहेका किसानलाई आलु खेती गर्न सुुझाए । त्यहाँका विपन्न किसानलाई गहुँबाली हटाएर आलु लगाउन भन्दै उनले मल र बीऊमा परियोजनामार्फत ५० प्रतिशत र स्थानीय तहमार्फत २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाइदिए । त्यतिमात्र हैन, सिँचाई गर्ने उचित व्यवस्था मिलाएपछि आलु उत्पादन बढिरहेको छ भने क्षेत्र विस्तार गर्न उनी सफल भएका छन् ।

अधिकांश बाँझो र टुक्रे जमिनमा खेती गर्ने किसानले यतिबेला आलू लगाइरहेका छन् । गहुँ र अन्य बालीको तुलनामा आलुबाट तेब्बर बढी आम्दानी गर्न थालेपछि किसानपनि उत्साहीत छन् । परियोजनाले नै गहुँबाली लगाइरहेका किसानलाई त्यसको सट्टा आलु लगाउन उत्प्रेरित गर्दै मल, बीऊ, उत्पादन र बजारको ग्यारेन्टी गरेपछि डडेल्धुराका किसान आलु खेतीतर्फ थप आकर्षित भइरहेका छन् ।

त्यसमा पनि, उनै खेमराज जोशीको महत्वपूर्ण देन छ । उनी पीएमएमपी परियोजना कार्यन्वयन इकाई प्रमुखका रुपमा डडेल्धुरामा आएपछि आलु सुपरजोनमै नमुना काम भएका छन् ।
