शिक्षण पेसा छोडेर कृषिमा मित्रलाल तिवारी, तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै

२०७९ जेष्ठ ११ गते प्रकाशित

काठमाडौं । मित्रलाल तिवारी कुनै परिचित नाम होइन् । उनी एक किसानका छोरा हुन् । जो आफै पनि कृषि गर्दै कृषि क्षेत्रलाई जोगाउन खोज्दै छन् । वि.सं २०१९ सालमा गण्डकीको स्याङजाको वालिङमा जन्मेका उनी विद्यालयसम्म पुग्न ८ किलोमिटर हिड्ने गर्थे ।

निकै मेहनतका साथ एसएलसी पास गरेका उनले भरतपुरबाट १२ पास गरेका थिए । सधै स्थायी जागिरमा नाम निकालेर काम गर्ने सपना देखेका उनले वि.सं २०४४ सालमा शिक्षण पेसा थालेका थिए । उनले विद्यालयमा प्राथमिक तहदेखि माध्यामिक तहसम्मको अध्यापन गराउने गर्थे । करिब ३१ वर्ष लामो शिक्षण पेसा सम्हालेका उनले आफ्ना बुवा बितेपछि भने ५/६ वर्ष बाँझो रहेको जमिनमा व्यवसायीक खेती सुरु गरेका हुन् ।

उनले पूर्वी नवलपरासी(बर्दघाट–सुस्तापूर्व) जिल्लाको हुक्सीकोटको आफ्नै जग्गामा २०५२ सालदेखि केरा खेती सुरु गरे । उनले त्यतिबेला सुरुमा १ बिघाबाट केरा खेती सुरु गरेका थिए । सुरुवाती समयमा केराको उत्पादन राम्रो भएपछि जोस जाँगरले भरिपूर्ण उनले थप २ विघा जमिनमा केरा लगाए । राम्रो बजार पाउन नसकेपछि वि.सं २०६२ सालमा उनले केरा खेती गर्न छाडे ।

‘केरामा बजार पनि पाइएन, बजार पाउँदा भाउ पाइएन्, भारतबाट धेरै आउछ प्रतिस्पर्दा बढ्यो, केरा लगेर सबै पैसा पनि दिएनन् अनि छोडियो,’ तिवारीले भने । केरामा भने जस्तो बजार नपाएपछि भने कृषिकर्म प्रतिको उनको मोह घटेन । उनले घिउ कुमारीको व्यवसायीक खेती गर्ने सोँच बनाए । उनले १५ कठ्ठा जमिनमा १० हजार विरुवाबाट घिउ कुमारीको खेती सुरु गरेका थिए ।

घिउ कुमारी राम्रो उत्पादन भए पनि बीउ दिने कम्पनी ठगी प्रकणमा कारबाहीमा पर्यो । घिउ कुमारीको खेतीबाट पनि उनलाई सोचेजस्तो फाइदा भएन् । बरु, उल्टै करिब ६ लाख रुपैयाँ घाटा नोक्सानी ब्यहोरेको उनी सम्झन्छन् । केरा र घिउकुमारी खेतीबाट पनि उनलाई फाइदा नभएपछि उनले पुनः शिक्षण पेशा गर्दै बचेको समय खेती गरेर अघि बढे । वि.सं २०७० सालमा उनी शिक्षण पेशाबाट स्वेच्छिक अवकाश लिए । र, पुन तरकारी खेती सोच बनाए ।

त्यसअघि भने उनले करिव ४/५ वर्ष कृषि गर्न छाडेर विद्यालयलाई निरन्तता दिएका थिए । त्यस अवघिमा भने कृषि सिकाइका लागि विद्यालय खोलेका थिए । ‘मैले स्वेच्छिक अवकाश लिएरपछि तरकारी खेती गरेको हुँ, घिउ कुमारी १५ कठ्ठामा १० हजार विरुवा लगाएको थिए, विश्वास लागेर शिक्षक पेसा गर्दै घिउकुमारी उत्पादन गरेको थिए ।’ तिवारीले भने

पछि। ‘मित्रवाटिका कृषि फर्म’ नामक विद्यालय सञ्चालन गरेका उनले उक्त स्थानमा बालिकाहरुलाई कृषि सिकाउने गर्छन् । उनी हाल त्यहाँ प्राध्यापक रहेका छन् । उक्त विद्यालयलाई बाटुली तिवारीले चलाउँदै आएकी छन् । करिब ४÷५ वर्ष कृषि जमिन खाली रहेपछि फेरी तरकारीको व्यवसायीक खेती गर्ने उनले सोच बनाए । उनले हाल ३ विघा जमिनमा काक्रो, करेला, लौका, बोडी, खुर्सानी लगायतका तरकारी रोपेका छन् । उनले हाल १० जना बढिलाई दैनिक रोजगार दिएका छन् भने हालसम्म ३० लाख रुपैयाँ बढी लगानी गरिसकेको उनको भनाई छ ।

कृषिजन्य उत्पादन गरे पनि बजारसम्म पुर्याउन निकै सास्ती हुने गरेको उनको अनुभव छ । किसानको उत्पादनले बजार नपाउने र भारतबाट आयातित कृषिउपजले बजार कब्जा गरेको उनको गुनासो छ । ‘किसानले दूःख गरेर उत्पादन गर्यो एक त बजारसम्म पुर्याउन सकिँदैन, अर्कोतर्फ सोचेजस्तो मूल्य पाइँदैन् । तर, बाहिरबाट आयात भएको तरकारीले बजार कब्जा गरेको छ’ उनी भन्छन् ।

तथापी, उनले आफ्नो तरकारी काठमाडौंको कालिमाटीसम्म पुर्याउने गरेका छन् भने स्थानीय बजारमा समेत बिक्रि गर्ने गरेका छन् । कोरोना महामारीका बेला भने तरकारी बजारसम्म पुर्याउन निकै कष्ट ब्यहोरेको र उचित बजार मूल्य नपाएको उनको गुनासो छ ।

भारतबाट ठूलो मात्रामा तरकारी आयात हुँदा स्वदेशी उत्पादनले प्रतिष्पर्धा गर्न नसकेको उनको भनाई छ । ‘बजार मूल्य पाउन गाह्रो छ, भारतबाट आउने तरकारीसँग प्रतिष्पर्धा गर्नुपर्छ, किसानले आम्दानीको रुपमा कृषि गरेर बस्न सक्ने अवस्था सरकारले अझै सिजना गर्न सकेको छैन ।’ तिवारीले भने ।

उनले बीउ बिजन र सिँचाइको अभावका कारण व्यवसायिक कृषि अघि बढ्न नसकेको बताए । त्यसका लागि किसानले नाफा कमाउन सक्ने अवस्था सिर्जना गर्न सरकारले उत्पादनमूलक किसानलाई अनुदान र कृषि सामग्रीमा सहुलियतमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

पीएमएमपी र ज्ञान केन्द्रको सहयोग

उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएमपी) र कृषि ज्ञान केन्द्रले विशेष रुपमा सहयोग गरिरहेको छ । पीएमएमपी परियोजनाले कृषि उपकरण तथा मेसिन र बीऊमा ५० प्रतिशत अनुदान तथा तरकारी संकलन गर्ने ट्रे वा क्यारेटमा ८५ प्रतिशत अनुदान दिएको छ ।

परियोजनाले थोपा सिँचाइ, मल्चिन प्लाष्टिक, र्यानगन, मोटर, ड्याङ बनाउने मेसिन, औषधी छर्ने स्प्रे, तरकारी संकलन गर्ने ट्रे तथा क्यारेटमा अनुदान दिएको छ । गत आर्थिक वर्ष २०७७/०७८ र चालू आव २०७८/०७९ मा परियोजनाले साढे ४ लाखभन्दा बढी रकम अनुदानबापत सहयोग गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्र नवलपुरबाट उनले व्यवसायिक किसानका रुपमा १ लाख ८० हजार रुपैयाँ अनुदान सहयोग प्राप्त गरे । व्यवसायिक किसानका रुपमा उनले ७५ हजार रुपैयाँ प्रोत्साहन अनुदानका रुपमा प्राप्त गरेको उनी बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले आफ्नो व्यवसायिक कृषिकर्ममा सहयोग गरिरहेको उनी बताउँछन् ।

गत वर्ष भने उनले काँक्रो मात्रै ५ लाख हाराहारीमा बेचेका थिए । तर, यो वर्ष भने हावाहुरी र अत्यधिक गर्मीले विरुवा ओइलाएर मरेकाले करिब ४ लाख रुपैयाँ घाटा ब्यहोरेको दुखेसो पोखे । तरकारी खेती धान खेतीभन्दा राम्रो उत्पादन हुने उनको अनुभव छ । मौसम अनुसार तरकारी उत्पादन गर्न सके राम्रै हुने भए पनि यो पटक भने भक्तपुरे काँक्रोको बिउ लगाउँदा ‘लु’ लागेको उनले बताए ।

उनको खेतमा अहिले तरकारी उत्पादन राम्रो भइरहेको छ । उनले एक दिन बिराएर तरकारी टिप्दा ३ क्विन्टलसम्म तरकारी उत्पादन हुने गरेको छ । धेरै उत्पादन हुँदा ३ रुपैयाँ किलो बोडी बेचेका उनले थोरै उत्पादन हुँदा भने १२० रुपैयाँसम्ममा पनि तरकारी बेच्ने गरेको सुनाए ।

‘धेरै उत्पादन हुँदा ३ रुपैयाँ केजी बेचेको थिए, कहिलेकाही १५ केजी मात्र उत्पादन हुँदा १२० रुपैयाँ केजी पनि बेच्नु परेको अवस्था छ,’ तिवारीले भने । उनले कृषि तथा शिक्षण पेसा बाटै आफ्नो ९ जनाको परिवार पालेका छन् । २ छोरा १ छोरी रहेका उनको एक ठाउँमा भएको जमिनमा छोराले कृषिमा सघाउँदै आएका छन् । उनी आफुपछिको पुस्ता कृषि पेसाबाट अन्तै पलायन हुने डरमा आफै लागेर कृषिलाई अग्रता दिँदै आएका छन् ।