आज बजेटः कृषि उत्पादन वृद्धि र आत्मनिर्भर केन्द्रीत हुने

२०७९ जेष्ठ १५ गते प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । मुलुक संघीयतामा प्रवेश गरेसँगै बनेको संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था गरेको छ ।

यस वर्षको बजेट मूलतः उत्पादन र उत्पादकत्व वृद्धि र आत्मनिर्भरता केन्द्रीत रहेर ल्याइने जनाइएको छ । यसअघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि खासगरी कृषिक्षेत्रलाई केन्द्रीत गरेर उत्पादन वृद्धि र आत्मनिर्भर केन्द्रीत कार्यक्रमहरु समावेश गरिसकेको छ । नीति तथा कार्यक्रमले पनि खासगरी कृषिक्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाइने र कृषिका माध्यमबाट औद्योगिक र आर्थिक वृद्धिमा जोड दिने योजना बनाएको थियो ।

त्यसअनुरुप नै बजेटले पनि कृषिक्षेत्रलाई नै बढी प्राथमिकता दिएर कार्यक्रम तथा योजनाहरु प्रस्तुत गर्ने विज्ञहरुले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको मध्यावधि समिक्षाका आधारमा पुनः संरचना गर्ने र जोनलाई पनि प्रदेशमा हस्तान्तरण गर्ने सरकारको तयारी छ ।

यसअघि जोन र सुपरजाने संघीय सरकारअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै सञ्चालन गर्दै आएको थियो । बढी आयात हुने वस्तुहरुमा केन्द्रीत रही परियोजनाअन्र्तगत सञ्चालित जोन, सुपरजोन, पकेट र ब्लगमार्फत मिसन कार्यक्रम अघि बढ्नेछन् ।

त्यस्तै, रासायनिक मलको सुनिश्चितता गर्ने सरकारको योजना छ । व्यवसायिक रबर खेती गर्नका लागि पनि बजेट विनियोजन हुने देखिएको छ । विदेशबाट बढीमात्रामा आयात हुने खाद्यबालीहरुको उत्पादन वृद्धिका लागि मिसन कार्यक्रम पनि बजेटमार्फत समावेश गरिने जनाइएको छ । बाँझो जग्गाको सदुपयोग गरी सामुहिक र सहकारी खेतीलाई प्रोत्साहन गरिने सरकारको नीति छ ।

किसानलाई सहुलियतपूर्ण कृषि कर्जा, कृषि तथा पशुपन्छी बीमा, उखु किसानलाई अनुदान, रासायनिक मलसरह प्रांगारिक मलमा अनुदान, किसान सूचीकरणलगायतका बिषयमा पनि बजेट विनियोजन हुनेछ ।