आज विश्व दूग्ध दिवशः विभिन्न कार्यक्रम गरेर मनाइँदै

२०७९ जेष्ठ १८ गते प्रकाशित

काठमाडौं । जुन १ अर्थात आज जेठ १८ गते विश्व दूग्ध दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खासगरी, दूग्ध र डेरीक्षेत्रका संघसंस्थाहरुले दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । दूग्ध विकास बोर्डले आज पशु सेवा विभागको हलमा मूल समारोह गर्दैछ ।

सो अवसरमा दूग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुको सम्मान गर्ने कार्यक्रम रहेको बोर्डका कार्यकारी निर्देशक डा. रोजेन्द्रप्रसाद यादवले जानकारी दिए । त्यस्तै, निजीक्षेत्रका नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघलगायतका निकायले पनि दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

आम उपभोक्तालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्धेश्यले सन् २०११ बाट नेपालमा पनि विश्व दूग्ध दिवश मनाउँदै आइएको छ ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूध माथिको पहुच बढाउन खाद्य तथा कृषि संगठन (FAO) ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेको हो ।

केन्द्रियस्तरमा विश्व दूध दिवस, २०७९ राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ,केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोशिएसनको सहयोगमा वृद्धाश्रमका बृद्ध बृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विशिष्ठ महानुभावलाई सम्मान कार्यक्रम, सम्मेलनमार्फत विश्व दूध दिवसको शुभकामना आदन प्रदान आदि कार्यक्रम गर्ने तय भएको छ ।

सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायहरुले विश्व दूध दिवस मनाउने कार्यक्रम रहेको छ ।

उद्देश्य

– दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने ।
– पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गर्न प्रचार प्रसार गर्ने ।
– दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने ।
– दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु¥याउन पहल गर्ने ।
– दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने ।

दूधको महत्व

दूध विभिन्न पोषक तत्वहरु (प्रोटिन, चिल्लोपदार्थ, ल्याक्टोज, खनिजपदार्थ, भिटामिन) मिली बनेको हुन्छ । मानव जीवनमा दूधको महत्व निम्न अनुसार रहेको छ ।

– खाद्य पोषणः शरीरिक वृद्धि विकास, दैनिक क्रियाकलाप, मेटावोलिक क्रियाकलाप, उत्पादन एवं प्रजजन क्षमताको विकास गर्न अत्यावश्यक प्रोटिन, ल्याक्टोज, चिल्लो पदार्थ, खनिजपदार्थ तथा भिटामिन पौष्टिक पदार्थ दूधमा पाइन्छ । खाद्य पोषणको अभावमा (Malnutrition) बाल बालिकाको शारीरिक वृद्धि नहुने, उमेर अनुसारको तौल नपुग्ने, प्रजनन क्षमतामा ह्रसा आउने जस्ता लक्षणहरु देखिन्छन् । ३५ चिल्लो पदार्थ एवं ८५ एस.एन.एफ.भएको १०० ग्राम प्रशोधित दूधले करिव ६० क्यालोरी शक्ति प्रदान गर्दछ ।

-स्वास्थ्य उपचारः उचित खानपानको अभावका कारण शरीरमा प्रायः क्यालसियमको कमी भई हाड कमजोर हुने गरेको पाइएको छ । चिकित्सकहरुले क्यालसियम युक्त औषधिको सेवन गर्ने सिफारीसका साथै नियन्त्रणका लागि नियमित दूधको सेवन गर्ने समेत सल्लाह दिन्छ ।

-स्वादिष्ट भोजनः माछा मासुको ठाउँमा दूधको सेवन उत्तम भोजन मानिएको छ । दूधले पोषण प्रदान गर्नुका साथै चिल्लो पदार्थले खाद्यपदार्थलाई सुगन्धीत एवं वास्नादार बनाउदछ ।

-प्रतिरक्षा प्रणालीको विकासः जिवाणु, विषाणु तथा शरीरलाई हानी गर्ने कारकतत्वको विरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीले गर्दछ । प्रतिरक्षा प्रणालीले एन्टिजेनको विरुद्ध लड्नुका साथै शरीरलाई रक्ष गर्दछ । दूधको सेवनले रोग विरुद्ध लड्ने शक्ति प्रदान गर्दछ । दूधको सेवनले स्वस्थ र तन्द्रुष्टी हुने पोषणविद लगायत चिकित्सा विज्ञ समेतको एउटै मत रहेको छ ।

-सन्तुलित आहारः नवजात शिशु (६ महीनासम्म) को लागि आमाको दूध एक सन्तुलित, पूर्ण खाद्यपदार्थ हो । शारीरिक वृद्धि विकासमा आमाको दूध पर्याप्त हुन्छ । हरेक उमेर, तह र तप्काका व्यक्तिहरुलाई दूध एक उत्तम खाद्यपदार्थ हो । बोर्डले ‘दीर्घ जीवन, गुणस्तरी दूध तथा दुग्ध पदार्थको सेवन’ नारामा दैनिक दूध पिउन आह्वान गर्दछ ।

विराटनगर दुग्ध वितरण आयोजना अन्तरगतका धुलो दूध कारखाना, चितवन धुलो दूध कारखाना, सुजल धुलो दूध कारखाना (पोखरा) तथा खरीपाटि धुलो दूध कारखाना सञ्चालनका लागि प्रयाप्त दूधको आवश्यकता पर्दछ । हेटौडा धुलो दूध कारखाना, सुनसरी धुलो दूध कारखाना तथा सूर्योदय मिल्क एण्ड विभरेज ईण्डष्ट्रि प्रा.लि.(विराटनगर) हाल निर्माणधिन अवस्थामा रहेको हुनाले ती उद्योगहरु सञ्चालन गर्न प्रयाप्त दूधको आवश्यकता देखिएको छ । कृषकले उत्पादन गर्ने दूध वाहेक ठुला ठुला व्यवसायिक डेरी फर्म सञ्चालन गरी दूधको माग तथा आपूर्तिमा सहज पुग्ने देखिन्छ ।